
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाको भवनमा उठेको कालो धुवाँ केवल सिमेन्ट–इटा र कागजको दहन थिएन, त्यो सुन्दरहरैंचाको दुई दशकदेखिको सामाजिक एकता र विकास यात्राको राख थियो । नगरप्रमुखको घर, पूर्वनगरप्रमुखको निवास, र उद्योगपति भोलेश्वर दुलालले वर्षौं मेहनतले खडा गरेको होटल—सबै आन्दोलनको आगोमा ध्वस्त भए ।

“हामीले कहिल्यै कल्पना गरेको थिएन, सुन्दरहरैंचामा यस्तो हुन्छ भनेर,” सुन्दरहरैंचामा अध्यापन गराउने एक शिक्षक भन्छन्, “यो ठाउँलाई त कहिल्यै बन्द नहुने शहर भनेर चिनिन्थ्यो । तर आज हामी आफैं बन्द भएर बसेका छौं ।”

सुन्दरहरैंचाको विराटचोक एक समय देशकै नमुना शहरको रूपमा चिनिन्थ्यो । व्यापारिक गतिविधि, विद्यालय र कलेज, होटल र पसलले यहाँको जीवन धप्काइरहेको थियो । बसाइसराइ बढ्दै गयो, विभिन्न जातजाति र समुदाय मिलेर बसे । यही मेलमिलाप र अवसरका कारण सुन्दरहरैंचा प्रगतिशील नगरको नाममा परिचित रह्यो ।
तर दुई दिनको आन्दोलनले त्यो सबै विरासत चकनाचुर गरिदियो । पसलहरू बन्द छन्, सडक सुनसान छन्, मान्छेहरू डरले घर बाहिर निस्कन सकिरहेका छैनन् ।
विराटचौकमा किराना व्यवसाय गर्ने एक व्यवसायीले भावुक हुँदै भने, “हामीले यहाँ लाखौं लगानी गरेका छौं । अहिले त्यो लगानीसँगै विश्वास पनि गुमेको जस्तो लाग्छ ।”
नेपालिरिका होटलमा काम गर्ने एक कर्मचारी भन्छन,“भोलिदेखि के खाने ? परिवार पाल्न कसरी गर्ने ?” उनले हातमा बाँकी खरानी देखाउँदै भने ।
आन्दोलनको सर्वाधिक ठूलो क्षति भने सामाजिक सम्बन्धमा परेको छ । १५–२० वर्षदेखि विभिन्न समुदायबीच कायम रहेको आपसी विश्वासमा दरार आएको छ ।
स्थानीय भन्छन, “अघिसम्म हामी एउटै टेबलमा बसेर चिया पिउन्थ्यौं । अहिले त आँखा भिडाउन पनि सकिरहेका छैनौं । यो सबैभन्दा ठूलो क्षति हो ।”
अब सुन्दरहरैंचाको पुनर्निर्माण केवल ईटा र ढुङ्गा जोडेर हुने छैन । नेतृत्वले तत्काल संवाद थाल्नुपर्नेछ, नागरिकको सुरक्षा र विश्वास फिर्ता गर्नुपर्नेछ । व्यापारी र उद्योगीलाई राहत र सहजीकरण आवश्यक छ, युवाहरूलाई रोजगारीका विकल्प सिर्जना गर्नुपर्नेछ ।
सुन्दरहरैंचा अझै खरानीको गन्धमा डुबेको छ । तर स्थानीयहरूमा पुनर्निर्माणको इच्छा जीवित छ । यो शहरले धेरै सह्यो, फेरि उठ्छ । तर यो पटक भौतिक मात्र होइन, मन पनि जोड्नुपर्छ ।