
सुन्दरहरैँचा । ‘नझरेका फूलहरू पलेँटी’ ले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान सहित ४४ औँ शृङ्खला को आयोजना गर्न्व भएको छ । कार्यक्रममा यसपटक चर्चित युवा कवि सिजन श्रेष्ठले कविता र गजल प्रस्तुत गर्ने भएका छन्।


साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित केपी घिमिरेको एकल प्रयासमा सुरु गरिएको ‘नझरेका फूलहरू’ शृङ्खलाले १० वर्षको सफल यात्रा पूरा गर्दै ११ औँ वर्षमा प्रवेश गर्न लागेको हो।

कार्यक्रमका संयोजक तथा प्रस्तोता केपी घिमिरेका अनुसार, यसपटकको पलेँटीमा कवि सिजन श्रेष्ठलाई विशेष प्रस्तुति दिइनेछ। श्रेष्ठले दर्जनभन्दा बढी कविता तथा गजलहरू प्रस्तुत गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ।
‘कलाकार राष्ट्रका गरिमा, निधि र पहिचान हुन्’ भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको पलेँटी शृङ्खलाले हालसम्म करिब २०० भन्दा बढी साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीलाई जीवित रहँदाखेरि सम्मान गरिसकेको छ।
घिमिरे स्वयं गीतकार, सङ्गीतकार, कुशल उद्घोषक तथा उद्घोषण तालिमका दक्ष प्रशिक्षकसमेत हुन्। मोरङको मिक्लाजुङ (टाँडी, धोबेनी)मा जन्मिएका उनी हाल सुन्दरहरैँचालाई आफ्नो कार्यक्षेत्र बनाएर विभिन्न सामाजिक, साहित्यिक र सांस्कृतिक गतिविधिमा सक्रिय छन्।
‘नझरेका फूलहरू पलेँटी’ शृङ्खलाको ४४ औँ प्रस्तुति बैशाख २ गते (मंगलवार) साँझ ६:३० बजे सुन्दरहरैँचा–१०, खोर्साने स्थित सिद्धार्थ सेकेन्डरी स्कुलको पुस्तकालय हलमा आयोजना हुनेछ।









