
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं १० मा रहेको बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ ।


कक्षा ६ मा अध्ययनरत सुन्दरहरैँचा–९ घर भएकी ११ वर्षीया बालिकालाई शिक्षक विजय राईले असोज ४ गते शुक्रबार कुटपिट गरेका हुन् । संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका राई सुन्दरहरैँचा–१२ मा बस्दै आएका छन् । उनी गणीत विषयका शिक्षक हुन् ।

लेखाइ गल्ती भएको र नपढेको भन्दै शिक्षक राईले कुटपिट गर्दा बालिका घाइते भएकी छन् । उनको विराटचोकस्थित सुकुना सामुदायिक अस्पतालमा उपचार गराइएको थियो । घटनालाई भने ईलाका प्रहरी कार्यालय बेलबारी सम्म पुर्याएर मिलाइएको छ ।
शिक्षकले चोटपटक लाग्ने गरी कुटपिट गरेर बालिकालाई घाइते बनाएको भन्दै कारबाहीको माग राखेर अभिभावक इलाका प्रहरी कार्यालय बेलबारी पुगेका थिए । प्रहरीका अनुसार दुवै पक्ष मिलेको कारण कार्वाही प्रक्रिया अगाडि नबढि मिलापत्र भएको पाइएको छ ।
बालिकाका बुवाका अनुसार ती बालिकाको कुटपिटबाट शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । कुटाइ पनि खपिसक्नु हैन,’ उनले भने, ‘पछाडिको भागमा चैं धेरै नै चोटपटक छ । छोरी अहिलेसम्म राम्ररी उठ्न र हिँडडुल गर्न सकिरहेकी छैनन् ।’ ‘गाउँघरमा मिल्नुपर्छ । मुद्दा मामिला गर्नु हुँदैन भनेर दबाब दिए,’ उनले भने, ‘त्यसपछि आगामी दिनमा घटना नगराउने भनी कागज गरेर छाडियो । छोरीको अवस्था हेर्दा चैं आफ्नै आँसु थामिदैन ।’ घटनाका बारेमा इलाका प्रहरी कार्यालयमा बेलबारीमा छलफल र मिलापत्र भएको बालिकाका बाबुको भनाइ छ ।
बाल प्रतिभा बोर्डिङ स्कुलका प्रिन्सिपल गणेशप्रसाद दाहालले भने घटना सामान्य भएको बताए । ‘शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको भएपनि अभिभावकसँग कुरा मिलिसक्यो । अबदेखि त्यस्तो गल्ती नगर्ने सहमति भएको छ,’ उनले भने, ‘लेख्नुपर्ने र बुझ्नुपर्ने गरिको घटना भएको हैन । हामीसँग अभिभावकहरु हातेमालो गरेर जानु भएकाले अहिले सबै सामान्य भइसकेको छ ।’ स्रोत: प्रदेश खबर









