
सुन्दरहरैँचा । मोरङकाे सुन्दरहरैँचा १२ स्थित सुकुना बहुमुखी क्याम्पस परिषद्को सत्रौँ बैठक सम्पन्न भएको छ । परिषद् बैठक क्याम्पस सञ्चालक समितिको अध्यक्ष केशव अधिकारीको सभापतित्वमा सञ्चालन भएको थियो ।


नेपाल सरकार‚ शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्री प्रमिलाकुमारी यादवले उद्घाटन गर्दै आफू क्याम्पसको पूर्वविद्यार्थी पनि भएका नाताले क्याम्पसको भौतिक‚ आर्थिक र प्राविधिक विषयमा सहयोग गर्ने र क्याम्पसले गरेको प्रगतिमा सन्तोष व्यक्त गरिन् ।

कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन‚ नीति तथा कार्यक्रम र आ.व. २०८०/०८१ का लागि रु.१८‚५४‚३७‚३९०/१० (अठार करोड चौवन्न लाख सैँतिस हजार तीन सय नब्बे पैसा दश) को अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
बैठकमा सांसद डा. सुनिलकुमार शर्माले क्याम्पसले प्राविधिक र व्यवसायिक धारका कार्यक्रम सञ्चालन गर्नु पर्ने र यसका लागि आफूले सहयोग गर्ने बताए ।
समितिको तर्फबाट क्याम्पस प्रमुखले प्रस्तुत गरेकाे वार्षिक प्रगति प्रतिवेदन‚ नीति तथा कार्यक्रम‚ वार्षिक कार्ययोजना‚ आर्थिक वर्ष २०८०/०८१ को बजेट‚ आन्तरिक लेखा परीक्षण प्रतिवेदन र वाह्य लेखा परीक्षण प्रतिवेदन उपर छलफल तथा प्रश्नोत्तर भई रचनात्मक र सिर्जनात्मक सुझाव सहित पारित गरी क्याम्पस परिषद्को सत्रौँ बैठक सम्पन्न भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।









