मुख्य समाचार राजनीति

सत्तामा बस्नेहरूले सुन तस्करी गरिरहेका छन्: सांसद शर्मा

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अहिले सत्तामा रहेकाहरूले नै विमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । आफ्नै दल सरकारमा सामेल रहेका बेला कांग्रेस सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेर सत्तामा रहेका विशिष्ट व्यक्तिहरूले नै तस्करी गरिरहेको आरोप लगाएका हुन् ।

इन्टरनेशनल इन्टिलिजेन्स एजेन्सीहरूको रिपोर्ट अनुसार नेपालको बाटो हुँदै अवैधानिक रुपमा ठूलो मात्रामा सुन भारतीय बजारमा गइरहेको भन्दै सांसद शर्माले राज्य सत्ताको संलग्नता विना यस्तो तस्करी सम्भव नभएको जिकिर गरे । ‘एयरपोर्ट क्याप्चर गरेर लुइँलुइँ सुन तस्करी गर्नेहरू चै यो देशको राज्य संयन्त्रमा बसेका छन्, अनि अरबौं ट्याक्स बुझाएर व्यवसाय गर्ने हामीलाई चै माफिया भन्छन्,’ स्वास्थ्य व्यवसायीसमेत रहेका सांसद शर्माले काठमाडौंमा सञ्चारकर्मीसँगको कुराकानीमा भने ‘इन्टरनेशनल इन्टिलिजेन्स एजेन्सीहरूको रिपोर्ट अनुसार प्रचण्ड प्रधानमन्त्री भएपछि ४ सय टन सुन नेपालको बाटो हुदै इलिगल रुपमा भारतीय बजारमा गएको छ, यो देशको गभर्मेन्टमा भएका, राज्य सत्तामा रहेका टप मान्छेहरूको संलग्नताबिना यो कुरा सम्भव नै छैन ।’

सरकारका विशिष्ट व्यक्तिहरू र उनीहरूका परिवारका सदस्यहरूको संलग्नता र संरक्षणबिना सुन तस्करी सम्भव नभएको उनको आरोप छ । ‘अहिले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालको नाम सुन तस्करीमा आइरहेको छ, प्रचण्ड जी ले आफ्नै छोरीबाट अनुसन्धान गर्न सक्नुहुन्छ ? उनले प्रश्न गरे । आफूले आजसम्म एक रुपैयाँ पनि घुस नखाएको दावी गर्दै सांसद शर्माले घुस खाने, तस्करी गर्ने तथा अनैतिक काम गर्नेहरूको विरोध गर्न नछोड्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *