
सुन्दरहरैंचा । किरात याक्थुङ चुम्लुङको २६ औं राष्ट्रिय चुम्लुङ ‘मुन्धुम शिक्षा विशेष राष्ट्रिय चुम्लुङ’ वैशाख २६ गतेदेखि मोरङको सुन्दरहरैंचा स्थित चुम्लुङ हिमको खुला प्राङ्गणमा आयोजना हुने भएको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन्।


“यो चुम्लुङ लिम्बू समुदायको सांस्कृतिक पुनर्जागरण, भाषिक अधिकार र मुन्धुम शिक्षाको कार्यान्वयनमा निर्णायक मोड सावित हुनेछ,” महासचिव तुम्बापोले भनिन्, “देशभरबाट प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहने तुम्बापोले बताइन् ।”

सम्मेलन मुन्धुम शिक्षा प्रणालीलाई केन्द्रीय मुद्दा बनाउँदै आयोजना गरिएको हो । आदिवासी लिम्बू समुदायको मौलिक ज्ञान र परम्परालाई शिक्षामा समेट्ने उद्देश्यले ‘मुन्धुम शिक्षा’बारे गहिरो छलफल गरिने आयोजकले जनाएको छ।
संविधानतः सुनिश्चित पहिचान अझै कार्यान्वयनमा आउन नसकेको भन्दै सम्मेलनले राजनीतिक र भाषिक मुद्दाहरूलाई पनि प्राथमिकता दिएको छ। विशेषतः प्रदेश नं. १ को नाम ‘कोशी’ खारेज गर्दै लिम्बुवानसहितको ऐतिहासिक पहिचानलाई पुनः स्थापित गर्न नामाङ्कन परिवर्तनको माग सम्मेलनको मुख्य एजेन्डा सम्मेलनमा राखिएको छ । यसका साथै लिम्बू भाषा सरकारी कामकाजको भाषा बनाउने विषयमा समेत ठोस निर्णय गर्ने आयोजकले बताएको छ ।
कार्यक्रममा लिम्बू समुदायको राष्ट्रिय नाच केला:ङ लगायत सांस्कृतिक प्रस्तुति रहनेछ। मुक्कुम्लुङ बचाउ अभियान, ‘नो केबलकार’ आन्दोलनजस्ता मुद्दाहरूमा समेत सम्मेलनले धारणा स्पष्ट पार्ने जनाएको छ।









