
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ८ स्थित पानट्याङकी टोलमा बसोबास गर्ने विपन्न परिवारहरुलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सिन्धुपाल्चोक र काठमाडौ घर बताउने वर्ष २३ कि सुनिता खत्री, बंगलादेशी नागरिक महमद खालिद हुसेन र महमद तानविर हुसेन रहेको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो सोहि स्थानमा बसोबास गर्ने मानिसहरुलाई खत्रीले डब्लु बि.एस.सी कम्पनीबाट गरिब दुखी असायहरुलाई आर्थिक सहयोगको लागि आएको भन्दै प्रति व्यक्ति १ हजार, १५ सय र ५ सयका दरले रकम वितरण गर्दै उनीहरुको फोटो खिच्ने र नेपाली नागरिकताको फोटोकपी लिईरहेको छ भन्ने बिशेष सुचना ईलाका प्रहरी कार्यालय बेलबारीले पाएको थियो ।

प्रहरीले सुचनाको आधारमा खत्रीलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा गाँउमा खिचेका ब्यक्तिहरुको फोटो र नेपाली नागरिकताको फोटोहरु बंगलादेशी नागरीक पल्लाबी ढाका बस्ने ४९ बर्षीय महमद खालिद हुसेन र बङलादेश सितागंज घर भई हाल काठमाण्डौ स्थित नयाँ बजारमा बस्दै आएका गार्मेन्टको काम गर्ने ३७ बर्षीय महमद तानबिर हुसेनलाई दिने र निजहरुले उक्त नागरिकता र फोटो प्रयोग गरी गैर कानुनी रुपमा इसेवा र खल्ती जस्ता खाताहरु खोली आर्थिक अपराध अनलाईन ठगी गर्ने गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
ठगिमा संलग्न महमद हुसेन र महमद तानबिर हुसेनलाई सुन्दरहरैचा नगरपालिका- ४ बलियाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको साथबाट प्रयोग नभएको एनसेल कम्पनीको सिमकार्ड, राहदानी, मोबाईल फोन, नगद र एटीएम कार्ड समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिईरहेको प्रहरीले जनाएको छ ।









