
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ मा अवस्थित नयाँ वृन्दावन गौशालामा शिवालय मन्दिरको प्राणप्रतिष्ठा तथा समाजसेवी रामप्रसाद काफ्लेको जीवनीमा आधारित पुस्तक ‘सेवाका सारथि’ को लोकार्पण हुने भएको छ।


गौशालाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विवरण सार्वजनिक गरेको हो। संस्थापक संरक्षक दिनबन्धु शास्त्रीका अनुसार मन्दिरको प्राणप्रतिष्ठा वैशाख १८, १९ र २० गतेसम्म पण्डित भवानीशंकर निरौलाको करकमलबाट गरिनेछ।

उनका अनुसार मन्दिरमा प्रतिस्थापित गरिने मूर्तिहरू भारतीय कलाकारद्वारा हस्तकला प्रविधिबाट निर्मित हुन्, जुन चन्दा संकलनबाट खरिद गरिएका हुन्। “शिवालय मन्दिर निर्माणसँगै धार्मिक पर्यटन प्रवर्द्धन तथा आध्यात्मिक चेतनाको विस्तार गर्ने हाम्रो लक्ष्य छ,” शास्त्रीले बताए।
सोही अवसरमा समाजसेवी तथा सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख रामप्रसाद काफ्लेको जीवनीमा आधारित पुस्तक ‘सेवाका सारथि’ को लोकार्पण वैशाख २० गते बिहान ११:०० बजे हुने छ। उक्त पुस्तक नयाँ वृन्दावन गौशालाका लागि गौशालाकी अध्यक्ष गङ्गादेवी काफ्लेले प्रकाशन गरेकी हुन्।
पुस्तकमा काफ्लेको जीवन संघर्ष, शैक्षिक योगदान र सामाजिक सेवामा पुर्याएको भूमिकाको विस्तृत वर्णन गरिएको छ। आयोजकका अनुसार पुस्तक नेपाली शिक्षाक्षेत्रका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।
पत्रकार सम्मेलनमा आयोजकले थप एक महत्वाकांक्षी योजनाको जानकारी पनि दिएका छन्। हाल ‘गर्भमै रहेको’ भनिएको उक्त योजना अन्तर्गत ‘विज्ञान गृह’ निर्माणको परिकल्पना गरिएको छ, जसको गुरु योजना नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको सहकार्यमा तयार पारिने बताइएको छ।









