
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले हालै मात्र सार्वजनिक गरेको तीन वर्षे उपलब्धिको बुकलेटपछि नगर प्रमुख केदार गुरागाईं आलोचनाको केन्द्रमा परेका छन्।


नगरपालिकाले तीन वर्षमा सम्पन्न गरेका विकास गतिविधि, योजनाहरू र सेवा प्रवाहको विवरण सार्वजनिक गर्न बुकलेट सार्वजनिक गरे पनि नगरप्रमुख गुरागाईंको अभिव्यक्तिले जनमानसमा नकारात्मक धारणा बनाएको देखिएको छ।

गुरागाईंले सार्वजनिक रूपमा सुन्दरहरैंचा नगरपालिकालाई “अन्य नगरभन्दा लोकप्रिय” रहेको दाबी गरेका थिए। तर, उनको यो दाबीप्रति जनताले विश्वास व्यक्त गर्न नसकेको देखिएको छ। अभिव्यक्तिपछि विभिन्न अनलाइन सञ्चारमाध्यमले यसबारे समाचार प्रकाशित गरे पनि अधिकांशमा नकारात्मक टिप्पणी आएको छ।
हक्की स्वभावका मेयर गुरागाईं सामान्यतया प्रचारमा नआउने नेताका रूपमा चिनिन्छन्। उनी आफैंले पनि आफुले गरेका कामको प्रचारप्रसार नगरेको स्वीकार गर्दै आएका छन्। यही कारण उनी जनमानसमा अपेक्षित लोकप्रियता हासिल गर्न असफल भएको बुझिन्छ।
गुरागाईंले आफ्नै पार्टीका नेता–कार्यकर्ताहरूले समेत आफ्ना कामको प्रचारमा सहयोग नगरेको गुनासो सार्वजनिक रूपमा गर्दै आएका छन्। नगरले केही उल्लेखनीय पूर्वाधार विकास, सडक विस्तार, शिक्षा तथा स्वच्छता क्षेत्रमा काम गरेको भए पनि त्यसको व्यापक प्रचार नभएको टिप्पणी स्थानीयहरूले गरेका छन्।
जनप्रतिनिधिले जनताको विश्वास जित्न सम्वाद, पारदर्शिता र सञ्चारमा ध्यान दिनु आवश्यक हुन्छ। मेयर गुरागाईंले आगामी कार्यकालमा जनसञ्चार र जनविश्वासमा सुधार ल्याउन सके मात्रै आफ्नो छवि फर्काउन सक्ने देखिन्छ।









