
सुन्दरहरैंचा । विराटचौक–विराटनगर हुँदै घिनाघाटतर्फ जाने मुख्य सडक खण्डको सुन्दरहरैंचास्थित विराटचौक बजार क्षेत्रमा सडक निर्माणको क्रममा अत्यधिक धुलो उड्न थालेपछि स्थानीय व्यवसायी र बासिन्दा आक्रोशित बनेका छन्। धुलो नियन्त्रणका लागि भन्दै सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अगुवाइमा दुवै तर्फ सडक खनेर आवागमन पूर्ण रूपमा अवरुद्ध गरिएको हो।


निर्माण कार्य जारी रहे पनि आवश्यक सुरक्षात्मक उपायहरू नअपनाइएपछि सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको थियो। धुलोका कारण आँखामा जलन, सास फेर्न गाह्रो हुने, र पसलका सामानहरूमा माटो जम्ने अवस्था आएपछि स्थानीयहरूले सवारीसाधन आवातजावतमा रोक लगाएका हुन ।

सडक अवरुद्ध भएपछि यात्रुहरू गन्तव्य पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। विराटनगर जाने यात्रुहरूले हाल हरैचा मोड हुँदै वैकल्पिक बाटो प्रयोग गर्न सक्नेछन ।









