मुख्य समाचार राजनीति

एमाले सुन्दरहरैंचाको अध्यक्षमा ढकाल र सुवेदीबीच प्रतिस्पर्धा

राज पोखरेल/सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गते हुने पक्का भएसँगै अध्यक्ष पदका लागि डिल्लीप्रसाद ढकाल र हेमराज सुवेदीबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

दुवै पक्ष आ–आफ्नो रणनीति र समुहसहित तयारीमा जुटेका छन्। सुवेदीले पहिले नै आफ्नो पूरा प्यानल सार्वजनिक गरी अभियानलाई तीव्रता दिएका छन् भने ढकालले पनि आफ्नो प्यानललाई पूर्णता दिने तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।

यसपटकको नगर अधिवेशनले संगठनभित्रको शक्ति सन्तुलनलाई नयाँ मोड दिने अनुमान गरिएको छ। कार्यकर्तामाझ उत्साह र चासो बढिरहेका बेला दुबै उम्मेदवार आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय देखिन्छन्। अधिवेशनले नेतृत्व चयनसँगै पार्टी संगठनको भावी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

एमालेमा देखिन थालेको गुटबन्दी, कोशी प्रदेशदेखि सुन्दरहरैंचासम्म प्रभाव

एमाले नेताहरूले केन्द्रमा एमालेभित्र गुट छैन भन्ने देखाउने प्रयास गर्दै आएका छन्, तर पछिल्ला घटनाक्रमले पार्टीभित्र स्पष्ट गुटबन्दी देखिन थालेको छ। कोशी प्रदेश अधिवेशनदेखि सुरु भएको गुटीय प्रतिस्पर्धा अहिले सुन्दरहरैंचा नगर अधिवेशनसम्म आइपुगेको छ।

कोशी प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउन दबाब दिए पनि त्यसविरुद्ध विनोद ढकालले चुनौती दिँदै आएका छन्। ढकालले ओलीको इच्छाविपरीत आफ्नै पक्षबाट उम्मेद्वार खडा गर्दै आएका छन्।

उही प्रवृत्ति मोरङ जिल्लामा पनि देखिएको थियो, जहाँ ओलीले समर्थन गरेका व्यक्तिलाई ढकाल निकट अजम्बर राईले पराजित गरेका थिए। यस घटनाले ढकाल समूहको प्रभाव र संगठनभित्रको शक्ति सन्तुलनमा प्रश्न उठाएको थियो।

त्यसै गुटको निरन्तरता अहिले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशनमा पनि देखिएको छ। अध्यक्ष पदमा उम्मेद्वारी दिएका डिल्लिप्रसाद ढकाललाई विनोद ढकालको स्पष्ट समर्थन रहेको बताइएको छ। अर्कोतर्फ, हेमराज सुवेदी ओली पक्षधर समूहबाट अघि बढिरहेका छन्।

यसले एमालेभित्र गुटीय शक्ति सन्तुलन अझ चर्किंदै गएको संकेत गरेको छ। यद्यपि नेतृत्व तहबाट गुट नभएको भनिए पनि, आधारभूत तहमा गुटगत प्रतिस्पर्धा तीव्र हुँदै गएको प्रस्ट देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *