मुख्य समाचार राजनीति

काङ्ग्रेसमा देउवाको समर्थन कसलाई ? गगन र शेखरको सम्बन्धमा चिसोपन

राज पोखरेल/विराटनगर । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षी नेताहरूको दौडधूप तीव्र बन्दै गएको छ। गगन थापा र डॉ. शेखर कोइराला सभापति पदका लागि अग्रपंक्तिमा देखिँदै गर्दा, सभापति शेरबहादुर देउवाको समर्थन कसले पाउँछ भन्ने चासो पार्टीभित्र र बाहिर चुलिएको छ।

१४औं महाधिवेशनमा एउटै समूहबाट अघि बढेका गगन-शेखर बिच अहिले भने दूरी बढ्दै गएको देखिन्छ। १४ औं महाधिवेशनमा गगन र शेखर एकै पंक्तिमा रहेर तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धामा उत्रिएका थिए। तर अहिलेको राजनीतिक परिदृश्यमा गगन थापा देउवासँग नजिकिँदै गएको आँकलन गरिएको छ भने शेखर कोइराला केही टाढिएको जस्तो देखिन्छ।

शेखर कोइरालाले यसपटक आफैं सभापति पदमा उम्मेदवारी दिने स्पष्ट घोषणा गरिसकेका छन्। गगन थापाले भने औपचारिक घोषणा नगरे पनि अघोषित सभापतिका रूपमा उनलाई हेरिएको छ, र उनले विभिन्न जिल्लाहरूमा सभाहरू गर्दै समर्थन बटुल्ने प्रयास गरिरहेका छन्।

नेतृत्वका लागि बढ्दो प्रतिस्पर्धासँगै कांग्रेसभित्र आन्तरिक गुटबन्दी झन स्पष्ट बन्दै गएको छ। गगनको उदय युवा पुस्ताको प्रतिनिधित्वको रूपमा हेरिएको छ भने शेखर कोइराला पुरानो संस्थागत नेतृत्वको निरन्तरताका पक्षमा देखिन्छन्।

पार्टीभित्र गगनलाई सभापति स्वीकार्ने वातावरण बिस्तारै निर्माण हुँदै गएको देखिन्छ। विशेषगरी युवा पुस्ता र संगठनात्मक रूपले सक्रिय समूहहरूमा गगनको लोकप्रियता उच्च रहेको छ। तर, शेखर समर्थकहरू भने नेतृत्वको अनुभव र स्थायित्वका आधारमा उनलाई अगाडि ल्याउन प्रयासरत छन्।

कांग्रेस भित्र एउटा धारणा छ – “देउवाले जसलाई समर्थन गर्छन्, उसैले जित्ने सम्भावना बढी हुन्छ।” यही अनुमानका आधारमा नेताहरू देउवाको समर्थन सुरक्षित गर्न प्रयासरत छन्।  तर देउवाले हालसम्म १५ औं महाधिवेशनमा आफ्नो समूहबाट को सभापतिका लागि उठ्ने भन्ने विषयमा सार्वजनिक रूपमा केही बोलेका छैनन्।

देउवा सार्वजनिक रूपमा कम बोल्ने तर भित्रभित्रै राजनीतिक चाल चाल्न सिपालु नेताका रूपमा चिनिन्छन्। अहिले पनि उनी रणनीतिक मौनतामा बसेर सम्भावित उम्मेदवारहरूसँग संवाद गरिरहेका छन् भन्ने चर्चा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *