
सुन्दरहरैंचा । नेकपा (एमाले) सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गतेका लागि तय भएसँगै अध्यक्ष पदका लागि दुई नेताले उम्मेद्वारी घोषणा गरेका छन्। डिल्लिप्रसाद ढकाल र हेमराज सुवेदीले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेसँगै अधिवेशनको माहोल तातिएको छ।


विगतमा सुवेदी समूहलाई समर्थन गर्दै आएका नेताहरू नै अहिले डिल्लिप्रसाद ढकालको पक्षमा खुलेर उभिएका छन्। ढकालले उम्मेद्वारी घोषणा गर्ने कार्यक्रममा ती नेताहरूको उल्लेखनीय सहभागिता देखिएको छ, जसले ढकाल समूहलाई थप बलियो बनाएको छ।

युवामाझ लोकप्रिय र सामाजिक संघ–संस्थामा अनुभव बोकेका ढकालको उम्मेद्वारीले कार्यकर्ताबीच उल्लेखनीय उत्साह देखिएको छ। ढकाल समूहलाई एमालेका प्रभावशाली नेता विनोद ढकालको स्पष्ट समर्थन रहेको छ। विनोद ढकालले यस पटक अध्यक्ष केपी शर्मा ओलीको “निर्देशन आधारित नेतृत्व चयन” को अभ्यासलाई चुनौती दिदै प्रतिस्पर्धात्मक निर्वाचनमार्फत नेतृत्व चयन गरिनुपर्नेमा जोड दिएका छन्।
यता, हेमराज सुवेदी पनि लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका छन्। सुवेदीको उम्मेद्वारीले अधिवेशनमा प्रतिस्पर्धा र बहसको वातावरण सिर्जना गरेको छ। सुवेदी पक्षले पार्टी अनुशासन र निरन्तरताको पक्षमा जनमत सिर्जना गर्ने प्रयास गरिरहेको छ।
सुवेदी समूहलाई भने राजकुमार ओझाको समर्थन रहेको छ। तर, ओझा मोरङ जिल्लामा प्रभावहीन बन्दै गएका नेता मानिन्छन्। उनी हालैको निर्वाचनमा मोरङ एमालेको अध्यक्ष पदमा अजम्बर राईसँग पराजित भएका थिए। ओझालाई ओली पक्षका भानुभक्त ढकालले समर्थन गरे पनि, भानुभक्त स्वयं सुन्दरहरैंचामा ‘टुरिष्ट नेता’ को रूपमा आलोचित हुँदै आएका छन्। उनको आधार क्षेत्र मोरङ क्षेत्र नं ३ मा समेत उनी कमजोर रहेका छन्।
यसपटकको अधिवेशन एमालेभित्रको आन्तरिक लोकतन्त्र, कार्यकर्ताको सहभागिता र नेताहरूप्रतिको समर्थन परीक्षणको थलो बन्ने अपेक्षा गरिएको छ ।









