
पाँचथर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा र सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–१ यासोक क्याम्पसमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।


कार्यक्रममा सिम्रिक सहकारीका सभाध्यक्ष विजय बस्नेतले अध्यक्षता गरेका थिए भने कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती प्रमुख अतिथि रहेका थिए । अन्य अतिथिहरूको समेत उपस्थिति रहेको सो कार्यक्रममा स्वागत मन्तव्य यासोक क्याम्पस सोवी सभापति तारा माया लावतीले राखेका थिए ।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका मार्केटिङ अफिसर नवीन दाहालले संस्थाको तर्फबाट मन्तव्य राख्दै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन गरिएको प्रयासबारे जानकारी दिए । प्रमुख अतिथि लावतीले यस्ता कार्यक्रमहरू स्थानीय बासिन्दाका लागि निकै उपयोगी हुने उल्लेख गरे ।
उक्त निःशुल्क शिविरबाट जम्मा ५५४ जना सेवाग्राही लाभान्वित भएका छन्।









