
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा अन्तराष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ । सुकुना क्याम्पसको आयोजनामा वैशाख ६ र ७ गते दुई दिन उक्त शैक्षिक सम्मेलन हुने भएको हो ।


क्याम्पसले आज पत्रकार सम्मेलनको आयोजना गरि शैक्षिक सम्मेलनको जानकारी गराउदै कोशी प्रदेश कै पहिलो अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना हुन लागेको दाबी गरेको छ । शैक्षिक सम्मेलनको मुख्य विषय Sustainability in Higher Education: Integrating Local and Global Knowledge (उच्चशिक्षामा दिगोपनः स्थानीय र विश्वव्यापि ज्ञानको एकीकरण) रहेको क्याम्पसले जनाएको छ ।

उच्चशिक्षाको दिगोपनका लागि वहस तथा छलफल, उच्चशिक्षाको दिगोपनका लागि स्थानीय र विश्वव्यापि रुपमा भइरहेका भइरहेका प्रयास/अभ्यासहरूको खोजी र सेयरिङ, उच्चशिक्षाको दिगोपनका विषयमा भएका ज्ञानको अन्वेषण, सेयरिङ र प्रकाशन, ज्ञानको खोजीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नेटवर्किङ तथा क्याम्पसलाई समसामयिक शैक्षिक विषयहरूको वहस, छलफल र अनुसन्धान गर्न सक्ने केन्द्रको रुपमा विकास गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताए ।
उक्त शैक्षिक सम्मेलनमा विभिन्न विश्वविद्यालय, क्याम्पस र उच्चशिक्षाका सरोकारवाला संस्थाका प्राध्यापक, शिक्षक र शैक्षिक व्यक्तित्व समेत गरी ३०० जना भन्दा बढी सहभागी हुने अन्तराष्ट्रिय शैक्षिक सम्मेलनका संयोजक गणेशप्रसाद दाहालले बताए ।









