
सुन्दरहरैंचा । मोरङको लेटाङ १ स्थित एक रिसोर्टमा महिलालाई नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-५ बस्ने २५ वर्षीया सोनुमा लिम्बू, केराबारी गाउँपालिका-८ बस्ने ५० वर्षका कमल बहादुर आले मगर र सुन्दरहरैँचा नगरपालिका-१० बस्ने ३८ वर्षका डम्बर खतिवडा रहेका छन्।


गत साउन १७ गते सोनुमा लिम्बू, कमल बहादुर आले मगर र डम्बर खतिवडाको मिलोमतोमा पीडित महिलालाई नशालु पदार्थ सेवन गराई लेटाङ नगरपालिका-१ स्थित ‘हाम्रो रिसोर्ट’मा पुर्याइएको प्रहरीले जनाएको छ। त्यहाँ ज्यान मार्ने धम्की दिँदै डम्बर खतिवडाले जबरजस्ती करणी गरेको आरोप छ।

घटना विवरण प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले तीनै जना आरोपीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनै जनामाथि जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो।









