
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ मा रहेको पर्यटकीय क्षेत्र हसिना सिमसारमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले अवलोकन गरेका छन् ।


शुक्रवार सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालको निमन्त्रणामा मन्त्री मण्डल हसिना सिमसार क्षेत्रमा आएका हुन ।

अवलोकनका क्रममा हसिना सिमसार व्यवस्थापन समितिका अध्यक्ष घनश्याम न्यौपानेले मन्त्री मण्डललाई सिमसारको अवस्था बारे जानकारी गराएका थिए । न्यौपानेले स्थानीय तहले सिमसारको विकासमा चासो नदेखाएको भन्दै मन्त्री समक्ष गुनासो गरेका थिए ।
पूर्व नगरप्रमुख ढकालले आफ्नो कार्यकालमा नगरको पर्यटकीय क्षेत्रको विकासमा थुप्रै योजनाहरू सम्पन्न गरेको भन्दै हसिना सिमसारलाई पर्यटकीय क्षेत्रको रूपमा अझ विकास गर्न प्रदेश स्तरबाट बजेट विनियोजन गरिदिन मन्त्री मण्डललाई आग्रह गरे ।
मन्त्री मण्डलले यही आर्थिक वर्षमा केही रकम हसिना सिमसारलाई विनियोजन गर्ने र आगामी बजेटमा हसिना सिमसारको लागि छुट्टै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । उनले पर्यटकीय क्षेत्रको विकास गर्नमा आफू सधैँ लागि पर्ने बताए । मन्त्री मण्डलले शुक्रवार सुन्दरहरैंचाको हसिना सिमसार र नयाँ वृन्दावन गौशालाको अवलोकन गरेका हुन ।









