
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा रहेको हरैंचा मोडल इङ्ग्लिस सेकेण्डरी स्कुलको २२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।


विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम साथै वर्ष भरी विभिन्न विधामा उत्कृष्ट हुने विधार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले हरैंचा मोडलले उत्पादन गरेको विद्यार्थीहरू अब्बल र क्षमतावान रहेको भन्दै प्रशंसा गरेका थिए । उनले परीक्षामा विद्यार्थीले पाउने प्राप्ताङ्क मात्र ठुलो विषय नभएको भन्दै विद्यार्थीहरूले के कस्ता रोजगारी पाए त्यस विषयमा ध्यान दिनुपर्ने बताए । उनले अबको शिक्षा रोजगार दिने प्रणालीको शिक्षा हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले कार्यक्रममा अभिभावकको उपस्थितिले साथै अभिभावकले विद्यालय प्रति देखाएको चासोले विद्यालयको भविष्य उज्ज्वल रहने बताए ।
विद्यालयका प्रिन्सिपल रुद्र थापाले पढाईको क्षेत्रमा मात्र नभएर यश विद्यालयले अतिरिक्त क्षेत्रमा समेत अब्बल रहेको बताए । थापाले विद्यालयलाई डिजिटल विद्यालयमा रूपान्तरण गरेको बताए । थापाले विद्यार्थीको क्षमता पहिचान गरेर उसको क्षमता अनुसारको अध्यापन गराउने विषयमा जोड दिएका थिए ।

विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसर पारेर डा. रोशन झा र पूजा शाहलाई सम्मान गरेको हो । पूजा शाह हरैंचा मोडल स्कुलको शिक्षिका हुन । त्यस्तै डा. रोशन झा हरैंचा मोडलको विद्यार्थी समेत हुन ।









