
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मा रहेको लभ्ली एन्जल्स इङ्ग्लिस बोर्डिङ स्कुलको २८ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।


शनिवार विद्यालयको प्रागणमा विभिन्न कार्यक्रम सहित विभिन्न विधामा उत्कृष्ट हुने विधार्थीहरुलाई पुरस्कार वितरण गर्दै विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यालयले दिने शैक्षिक गुणस्तरलाई सीप सँग जोड्न सकिएन भने त्यसलाई गुणस्तरीय शिक्षा मान नसकिने बताए । उनले हरेक विद्यालयले शैक्षिक गुणस्तरलाई सीप सँग जोड्नुपर्नेमा जोड दिएका थिए । गड्तौलाले विद्यालय र अभिभावकले आफ्ना बालबच्चाको रुचि के मा छ त्यसलाई प्राथमिकतामा राखेर शिक्षा दिनुपर्ने उल्लेख गरे ।
विद्यालयका प्रिन्सिपल मनोज रेग्मीले शिक्षाको प्रणाली परिवर्तन गर्नु पर्ने र आफू त्यस तर्फ प्रतिबद्ध रहेको बताए । विद्यार्थीले पहिलो प्राथमिकता पठनपाठनमा जोड दिने हो भने मात्र विद्यालयले असल विद्यार्थी उत्पादन गर्न सकिने र गुणस्तरीय शिक्षा उत्पादन गर्न सकिने बताए । रेग्मीले आफ्नो विद्यालयलाई पछिल्लो समय प्रविधिमैत्री बनाईसकिएको समेत बताएका छन् ।
कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले यस क्षेत्रको शैक्षिक गुणस्तर वृद्धिमा यस विद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा सञ्चारकर्मी नेपाल पत्रकार महासंघ मोरङका कार्य समिति सदस्य तथा रेडियो सुसेलीका प्रबन्ध निर्देशक बाबुराम निरौला सम्मानित भएका छन् । विद्यालयले हरेक वर्ष एक जना विभिन्न क्षेत्रमा योगदान पुर्याएका सामाजिक व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।










