कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार

बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी भोलि देखि हुने

बेलबारी । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र बेलबारी प्रज्ञा प्रतिष्ठानको सह आयोजनामा आगामी फागुन १६ गतेदेखि २० गतेसम्म बेलबारीमा आयोजना हुने दोस्रो प्रदेशिक ललितकला प्रदर्शनीको तयारी अन्तिम अवस्थामा पुगेको छ। बुधबार बेलबारी १ स्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाले प्रदर्शनीको बारेमा जानकारी दिएको हो ।

कार्यक्रमको मुख्य लक्ष्य स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूको सिर्जनालाई प्रवर्द्धन गर्नु र कलाप्रेमीहरूलाई नयाँ कला अनुभव दिने रहेको संयोजक सञ्जय वान्तवाले बताए । उनले प्रदर्शनी मार्फत ललितकला क्षेत्रको नयाँ दिशा प्रदान गर्ने उद्देश्य पुरा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आयोजक संस्थाका अग्रज कलाकार सम्मान उपसमितिका संयोजक गणेश लामाले यस्ता कार्यक्रमहरूले ललितकलाको विकासमा महत्त्वपूर्ण भूमिका निभाउने र स्थानीय स्तरमा यस्ता कलात्मक गतिविधिहरूको आयोजना सिर्जनशीलताको प्रवर्द्धन र कला क्षेत्रको प्रगति सुनिश्चित गर्न मद्दत गर्ने जिकिर गरे ।

पहिलो संस्करण इटहरीमा आयोजना गरिएको प्रदर्शनी, यसपटक बेलबारी १ स्थित तमु बौदिष्ट गुम्बा परिसरमा हुने छ। फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने यो प्रदर्शनीमा देशभरका चर्चित कलाकारहरूको साथै स्थानीय नवप्रतिभाहरूको सहभागिता रहने प्रचार प्रसार उपसमिति संयोजक विकास बुढाथोकीले जानकारी दिए ।

प्रदर्शनी अवलोकनका लागि विद्यार्थी, कला पारखी र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएका छन्। यस प्रदर्शनीमा चित्रकला, मूर्तिकला र डिजिटल आर्ट जस्ता विभिन्न विधाका उत्कृष्ट कृतिहरू प्रदर्शित गरिनेछन्। आयोजकको अनुमान अनुसार, प्रदर्शनी अवधिभर १५ हजार भन्दा बढी दर्शकहरूको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *