
सुन्दरहरैंचा । सोमबार र मङ्गलबार काठमाडौंमा जैविक–प्रविधिसम्बन्धी दुई दिने तेस्रो अन्तरराष्ट्रिय सम्मेलन भएको छ । सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानकर्तासँगै मोरङको सुन्दरहरैंचाका बाबुराम निरौला पनि सहभागी भएका छन् । निरौला सामुदायिक विकास एण्ड सोलुसन प्रालि नामक कम्पनी स्थापना गरी जैविक विषादी उत्पादनको क्षेत्रमा लागेका छन् ।


निरौलाका अनुसार बायोटेक्नोलोजी सोसाइटी नेपालको आयोजनामा भएको सम्मेलनमा नेपाल, भारत, चीन, बङ्गलादेश, नर्वे र अमेरिकाका १ सय ५० भन्दा बढी अनुसन्धानकर्ताहरुको उपस्थिति रहेको थियो । मेडिकल साइन्सदेखि बोटानिकल साइन्ससम्म कुल १४ विधामा ९१ जना अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुले आ–आफ्नो अनुसन्धान कार्यक्रममा प्रस्तुत गरेको निरौलाले जानकारी दिए ।

बायोटेक्नोलोजीको नवप्रवद्र्धन र त्यस क्षेत्रको ज्ञानलाई प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम पूर्ण रुपमा सफल रहेको भारतबाट आएका डाक्टर बासुदेव झमेरले बताए । भारतले पछिल्लो समय वायोटेक्नोलोजी, इनर्जी, फुड, फर्मासिटिकलका क्षेत्रमा बृहत कार्य गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा नाष्टका उपकुलपति प्रा.डा. दिलिप सुब्बा प्रमुख अतिथि रहेको थियो । विशेष अतिथिमा पूर्वमन्त्री गणेश साह, कृषि विश्वविद्यालय चितवनका उपकुलपति प्रा.डा. शारदा थपलिया रहेका थिए । कार्यक्रमको सभापतित्व बिएसएनका अध्यक्ष नवीननारायण मुनकर्मीले गरेका थिए ।









