
सुन्दरहरैंचा । सुन्दरहरैँचा नगरपालिकाकाे आर्थिक ऎन २०८० मा उल्लेखित कर, दस्तुर, सेवा शुल्क सम्बन्धि समस्या समाधानकालागि गठित समितिले आफ्नाे कार्य सम्पन्न गरी नगरप्रमुख केदारप्रसाद गुरागाईँ समक्ष प्रतिवेदन पेश गरेकाे छ ।


बिहीबार वडा नम्बर १२ का वडा अध्यक्ष राेशनप्रसाद ढकालकाे सम्याेजकत्वमा गठित विज्ञ सहितकाे समितिले नगरप्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेकाे हाे । प्रतिवेदन बुझ्दै नगरप्रमुख गुरागाईँले समितिले बुझाएको प्रतिवेदन माथि राजश्व परामर्श समितिमा छलफल गरी कार्यपालिका बैठकमा पेश हुने बताए । गुरागाईँले कार्यपालिकामा छलफल गरी नगरसभाले पारित गरेपछि मात्रै समितिले बुझाएको प्रतिवेदन अनुसारको आर्थिक ऎन कार्यान्वयनमा आउने बताए ।

गठित समितिकाे विज्ञकाे रूपमा पूर्व प्रशासक प्रेमप्रकाश उप्रेति र गणेश तिम्सिना रहेका थिए । यस्तै समितिमा वडा अध्यक्ष प्रकाश श्रेष्ठ, भुवनसिंह आले, कार्यपालिका सदस्य बविता खापुङ्, टुना कुमारी विश्वकर्मा रहेका थिए भने सदस्य सचिवमा इन्जिनियर प्रदिप राई रहेका थिए ।
सुन्दरहरैंचा नगरपालिकामा भोलि शुक्रबार दिउँसो कार्यपालिका बैठक बस्ने भएको छ । उक्त कार्यपालिका बैठकले नगरको नगर सभाको मिति तोक्ने नगरप्रमुख गुरागाईँले बताए ।









