
सुन्दरहरैंचा । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको फुटबल प्रतियोगितामा हरैचा मोडल सेकेण्डरी इंगलिस स्कुलले उपाधि जित्न सफल भएको छ। सहिद रंगशालामा सम्पन्न फाइनल खेलमा हरैचा मोडलले पथरीको बालमिकी स्कुललाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।


उपाधि जित्न हरैचा मोडलका गौरव खवासले दुई गोल, जबकि रोहन मण्डल र भुपेन्द्र लुईटले समान १–१ गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। खेल अवधिभर हरैचा मोडलले बल पोजेसनमा पकड राख्दै प्रभावशाली प्रदर्शन गरेको थियो।

खेलको प्रारम्भिक मिनेटदेखि नै हरैचा मोडलले आक्रामक शैली अपनाएको थियो। पहिलो हाफमै गौरव खवासले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा रोहन मण्डल र भुपेन्द्र लुईटले थप गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
फुटबल उपाधिसँगै हरैचा मोडलले प्रतियोगितामा आफ्नो प्रभुत्व कायम गरेको छ। खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिएको थियो।









