
पथरी । पथरीशनिश्चरे-१ स्थित एभरेष्ट अंग्रेजी स्कुलले आज भव्य सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित आफ्नो ३९औं वार्षिकोत्सव सम्पन्न गरेको छ। विद्यालयले यस अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै विशेष सम्मान गरेको छ।


विद्यालयबाट एसईई परीक्षामा जीपीए ४.० ल्याउने विद्यार्थीका अभिभावक हिमालय न्यौपाने र अम्बिका न्यौपानेलाई सम्मान गरिएको थियो। न्यौपाने परिवारका छोरी दिक्षा न्यौपानेले ९०.३८ प्रतिशत, छोरा अदर्श न्यौपानेले जीपीए ४.० तथा अर्की छोरी अपेक्षा न्यौपानेले जीपीए ३.०९ प्राप्त गर्दै परीक्षा उत्तीर्ण गरेका थिए।

सम्मानित अभिभावक अम्बिका न्यौपानेले मन्तव्य दिँदै आफ्ना तीन सन्तानले एसईईदेखि उच्च शिक्षासम्म उत्कृष्ट अंक ल्याउनुका साथै रोजगारीमा समेत लागिसकेको जानकारी दिइन्।
विद्यालयका निर्देशक तथा प्रधानाध्यापक रबिन कन्दङ्वाले विद्यार्थीको सफलता अभिभावकको सहयोगबिना सम्भव नहुने बताउँदै उत्कृष्ट विद्यार्थीका अभिभावकलाई सम्मान गर्ने परम्परा विद्यालयले निरन्तर जारी राख्ने उल्लेख गरे।
कार्यक्रम शिक्षक- अभिभावक संघका अध्यक्ष रुपनारायण भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो, शिक्षा विभाग प्रमुख नवीन खुलाल लगायतका अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।
विद्यालयका विद्यार्थीहरूले एसईई मात्र नभई नगर, जिल्ला तथा प्रदेशस्तरीय खेलकुद, गीत-संगीत, नृत्य, अभिनय, चित्रकला, हाजिरीजवाफ तथा स्पेलिङ प्रतियोगिताहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको प्रतिष्ठा उचो बनाएको प्रिन्सिपल कन्दङ्वाले जानकारी गराए।
सहप्राचार्य उमाकान्त न्यौपानेले विद्यार्थीहरू अध्ययनसँगै कला, खेलकुद र नेतृत्व क्षमतामा समेत अब्बल बन्नुपर्नेमा जोड दिँदै विद्यालयले उनीहरूको प्रतिभा पहिचान गरी सही मार्गदर्शन गर्दै आएको बताए।









