
सुन्दरहरैंचा । पछिल्लो समय मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा विधार्थीहरुको गुण्डागर्दी बढ्दै गएको छ । विधार्थी संगठनको आडमा बढ्दो गुण्डागर्दीले यहाँको शैक्षिक गुणस्तर नै जोखिममा रहेको छ ।


विधार्थी संगठनका नेताहरुलाई राजनितिक दलले संरक्षण गर्दा क्याम्पस परिसर भित्र गुण्डागर्दी, अपराधिक घटना बढ्दै गएको देखिन्छ । क्याम्पस परिसर भित्र दिनप्रतिदिन अपराधिक घटनाक्रम बढे पनि क्याम्पस प्रशासन भने मौन देखिन्छ । अपराधिक गतिविधी बढाउने विधार्थीहरुलाई कार्वाही गर्नुको सट्टा उल्टै राजनितिक दलहरुको आडमा खुलेआम ती व्यक्तिहरुलाई संरक्षण गर्दै आएको देखिन्छ ।

केही वर्ष अघि क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठको दोहोरो सुविधालाई लिएर नेपाल विधार्थी संघ सुकुनाले निरन्तर आन्दोलन गर्यो । उक्त आन्दोलनमा समेत राजनितिक दलले विधार्थी संगठनलाई प्रयोग गर्दा झडपको सिर्जना भयो । उक्त आन्दोलनमा अनेरास्ववियु सुकुना र नेवी संघ बिच दोहोरो झडप हुँदा तत्कालिन नेवी संघ सुकुनाका सभापती विजय तोलाङ्गी सहित दर्जनौ विधार्थीहरु घाइते भए । तर घटनामा संलग्नलाई कार्वाही गर्नुको सट्टा राजनितिक दलले मेलमिलापमै विषय टुंङ्याए । त्यस लागतै बर्सेनि साना ठुला विवाद तथा झगडा सुकुना क्याम्पसमा हुँदै आएको छ ।
शुक्रबार सांझ सुकुना स्ववियु सभापती सन्तोष लिम्बू माथी केही विधार्थी संगठनका नेताहरुले चिर्पट प्रहार गरे । सभापती लिम्बू घाइते भई हाल विराटनगर स्थित आर्या हस्पिटलमा उपचारमा छन । साझ ६:४५ बजे क्याम्पस परिसर भित्र खेल खेल्ने क्रममा विवाद हुदा झडप भएको थियो । स्ववियु सुकुना सभापतिसन्तोष लिम्बू र अनेरास्ववियु सुकुनाका अध्यक्ष योगेश दाहाल विच विवाद भएको थियो ।
स्ववियु निर्वाचन होस वा अन्य विधार्थीहरुको कार्यक्रममा होस क्याम्पस परिसर भित्र सानाठुला झगडा विवाद तथा अपराधिक गतिविधी हुँदै आएको छ । क्याम्पस भित्र हुने सानो विवादलाई समेत यहाँका विधार्थी संगठनहरुले ठूलो झडप तिर धकेल्ने प्रयास गर्ने गरेको देखिन्छ ।
विधार्थी संगठनका नेताहरुले विधार्थीको मुद्दामा केन्द्रित हुनु भन्दा पनि राजनितिक दलको संरक्षणमा क्याम्पस प्रशासन भित्र अपराधिक कृयाकलाप बढाइरहेको देखिन्छ । घटना जसले गरोस उनिहरुलाई कानुनको दायरामा ल्याउन जरुरी छ अन्यथा सुकुना बहुमुखी क्याम्पसको शैक्षिक गतिविधिमा प्रत्यक्ष असर पर्ने सम्भावना देखिन्छ । क्याम्पस प्रशासनले समेत आफ्ना विधार्थीहरुको गतिविधिलाई प्रत्यक्ष निगरानी गरेर क्याम्पसको शैक्षिक गुणस्तर अझ बढाउनुपर्ने देखिन्छ ।









