
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा क्रियाशील सञ्चारकर्मीहरूको संगठन सुन्दरहरैँचा पत्रकार समूहको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। समूहका अध्यक्ष बाबुराम निरौलाको अध्यक्षतामा धनकुटाको नाम्जेमा आयोजित साधारणसभाले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।


साधारणसभामा स्थानीय सञ्चार प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रम गरिएको थियो। साथै, नाम्जे घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिएको थियो। पत्रकार समूहले जारी गरेको नाम्जे घोषणापत्रमा निम्न बुँदाहरू समावेश छन्:

१. स्थानीय सञ्चार गृह तथा सञ्चारकर्मीहरूको संस्थागत तथा वैयक्तिक क्षमता अभिवृद्धिका लागि सुन्दरहरैंचा नगरपालिकामा ‘सूचना तथा सञ्चार कार्यविधि’ निर्माण गरी चालु आर्थिक वर्षदेखि लागू गर्न आवश्यक पहल गर्ने।
२. सुन्दरहरैंचा सञ्चारग्राम निर्माणका लागि स्थानीय सरकारसँग जोडदार माग गर्ने।
३. स्थानीय तहले गरेका सकारात्मक कार्यको प्रचारप्रसार गर्नुका साथै कमजोरी सुधार्नका लागि निरन्तर खबरदारी गरिरहने।
४. पिछडिएर रहेका बस्ती तथा नागरिकहरूको सेवामा पहुँच अभिवृद्धिका लागि सञ्चार क्षेत्रको भूमिकालाई अझ सक्रिय बनाउने।
५. सामाजिक सञ्जाल र सञ्चारगृह बीचमा भिन्नता नदेख्ने प्रवृत्ति समाजमा आइरहेको सन्दर्भमा त्यसको न्यूनीकरणका लागि आवश्यक गतिविधि गर्ने।
६. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवारीपूर्वक सञ्चारकर्ममा क्रियाशील रहन सबै सञ्चारकर्मीलाई अनुरोध गर्ने।
यो घोषणापत्रले सञ्चार क्षेत्रमा देखापरेका विकृतिहरूलाई अन्त्य गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैगरी, सूचना तथा सञ्चार कार्यविधि मस्यौदा निर्माण गर्न खेमचन्द्र अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ। समितिमा लिलानाथ गच्छदार, राजन पोख्रेल, कृष्णचन्द्र सुवेदी र गणेश मिश्र सदस्यका रूपमा रहेका छन्।









