
छविवैरागी घिमिरे । वर्तमान नेपाली साहित्य संसार अत्यन्तै चञ्चल भएको छ। हरेक दिन नयाँ पुस्तकहरू प्रकाशित भइरहेका छन्। नयाँ लेखकहरू जन्मिरहेका छन्। विमोचनका तस्बिरहरूले सामाजिक सञ्जाल भरिएका छन्। अर्कोतर्फ वाहवाहीको एउटा कृत्रिम उज्यालोले साहित्यलाई निकै भव्य देखाइरहेको छ। बाहिरबाट हेर्दा लाग्छ,सिर्जनाको स्वर्णयुग चलिरहेको छ। तर यही चमकभित्र एउटा गहिरो प्रश्न चुपचाप उभिएको छ। के साँच्चै नयाँ सिर्जना जन्मिरहेका छन् ? कि हामी केवल पुरानै इतिहास,पुरानै कथा र पुरानै अनुभूतिलाई नयाँ आवरणमा बेचिरहेका छौँ ?


आज धेरै लेखन र पुस्तकहरू पढ्दा लाग्छ,लेखकले आफ्नो आत्माबाट कम,पुस्तकालयबाट बढी लेखेको छ। कसैले इतिहासका घटनाहरूलाई फेरि सजाएको छ। कसैले पुराना मिथकलाई आधुनिक भाषामा पुनर्लेखन गरेको छ। कसैले अर्काको अनुभूति सापटी लिएर आफ्नै संवेदना जस्तो प्रस्तुत गरेको छ। शब्द नयाँ छन् तर आत्मा पुरानै छ। शैली आकर्षक छ तर चेतना उधारो छ। अनि त्यसैलाई महान् सिर्जना भनेर प्रचार गरिँदैछ। समर्थकहरू वाहवाही गरिरहेका छन्। समूहहरू गुणगान गाइरहेका छन्। तर समय भने मौन बसेर एउटा मात्र कुरा हेरिरहेको छ। त्यो के भने,लेखनमा लेखकको आफ्नै रगत कति मिसिएको छ ?

जर्मनी लेखक बर्टोल्ट ब्रेख्तले भनेका थिए “कला सत्यको ऐना होइन,बरु सत्य देखाउने हथौडा हो।” यो भनाइबाट के पुष्टि हुन्छ भने साँच्चो साहित्यले केवल संसारको नक्कल गर्दैन। बरु त्यसले संसारको आवरण फुटाउँछ। अनि मानिसलाई केवल कथा सुनाउँदैन बरु उसको चेतनामा चोट पुर्याउँछ। यही कारणले साहित्य केवल मनोरञ्जनको साधन होइन। आत्माको जागरण पनि हो।साहित्य केवल कथा भन्नु होइन। कथा त इतिहासकारले पनि भन्छ। समाचारले पनि भन्छ। लोककथाले पनि भन्छ। साहित्य त्यहाँ जन्मिन्छ जहाँ शब्दभित्र लेखकको आत्मा काँपिरहेको हुन्छ। अनि एउटा वाक्य केवल जानकारी हुँदैन, अनुभूति बन्छ। जब घटना केवल घटना रहँदैन तब मानव चेतनाको घाउ बन्छ। साँच्चो सिर्जना त्यहीँ सुरु हुन्छ जहाँ लेखकले अरूले देखेको संसार मात्र होइन,आफूले भोगेको अँध्यारो पनि शब्दमा उतार्छ।
यसैले संसारका महान् लेखकहरू केवल लेखक भएर बाँचेका होइनन्। उनीहरू आफ्नै आत्माका साक्षी बने।रुसी उपन्यासकार फ्योदोर दोस्तोयेभ्स्कीका पुस्तक पढ्दा लाग्छ,मानिस बाहिरभन्दा भित्र धेरै टुक्रिएको हुन्छ। उनले अपराधका कथा मात्र लेखेनन्।अपराधपछि मानिसको आत्मामा उठ्ने भूकम्प पनि लेखे। उनको क्राइम एन्ड पनिस्मेन्ट कुनै साधारण अपराधकथा होइन। त्यो अपराधपछि मानिसले आफैँलाई कसरी सजाय दिन्छ भन्ने आत्मिक दस्तावेज हो। दोस्तोयेभ्स्की जेल सजायदेखि मृत्युदण्डको प्रतीक्षासम्म पुगेका थिए। गरिबी र मानसिक यातनासँग लडेका थिए। त्यसैले उनका पात्रहरू कल्पनाका कठपुतली बनेनन् ती उनका आफ्नै घाउका प्रतिरूप बन्न पुगे। दोस्तोयेभ्स्कीको एउटा भनाइ यहाँ अत्यन्त सान्दर्भिक लाग्छ,जुन भनाइ,मानिसले जब दुःख भोग्छ,त्यसपछि ऊ गहिरो बन्छ भन्ने हो । वास्तवमा गहिरो साहित्य आरामबाट जन्मिँदैन। त्यो भित्रको विघटन,असफलता,पीडा र अस्तित्वको द्वन्द्वबाट जन्मिन्छ। जसले आफूभित्रको अँध्यारो देखेको छैन,उसले उज्यालोको वास्तविक अर्थ पनि लेख्न सक्दैन।
त्यस्तै चेक गणराज्यका प्रख्यात लेखक फ्रान्ज काफ्काले संसारलाई बाहिरको युद्धभन्दा ठूलो एउटा अदृश्य कारागार देखाए। त्यो मानिसको भित्री कैद हो। दि मेटामोर्फोसिसमा एउटा मानिस किरामा बदलिन्छ तर त्यो वास्तविक रूपान्तरण होइन, आधुनिक मानिसको आत्मिक विघटनको प्रतीक हो। काफ्काले इतिहासका युद्धहरू लेखेनन्। तर उनले आधुनिक सभ्यताको मौन भय लेखे। यही कारणले उनका शब्द आज पनि मानिसको चेतनामा चिसो धुवाँझैँ फैलिन्छन्।
रुसका महान् उपन्यासकार लियो टोल्स्टोयले युद्धलाई केवल सेनाको भिडन्तका रूपमा हेरेनन्। वार एन्ड पिस नामक पुस्तकमा नेपोलियनको युद्धभन्दा ठूलो कुरा मानिसको आत्मा हो। इतिहासमा युद्ध हजारौँ हुन्छन्। तर टोल्स्टोयले युद्धभित्र मानिसको भय, प्रेम, असुरक्षा र नियतिको कम्पन देखाए। त्यसैले उनी इतिहासकार होइनन्,सर्जक हुन्। यदि उनले केवल युद्धको मिति र विवरण लेखेका भए, उनका किताबहरू इतिहासको अभिलेखालयमा थन्किन्थे। आजसम्म मानिसको आत्मामा रहने थिएनन्।
गेब्रियल गार्सिया मार्केज कोलम्बियाका विश्वप्रसिद्ध लेखक हुन्।उनले आफ्ना हजुरआमाका कथाहरू,ल्याटिन अमेरिकाको राजनीतिक हिंसा र मानवीय एकान्तलाई मिसाएर एउटा यस्तो संसार निर्माण गरे जहाँ यथार्थ र जादु एकअर्कामा विलीन हुन्छन्।उनको वन हन्ड्रेड इयर्स अफ सोलिट्युड केवल एउटा परिवारको कथा होइन। त्यो स्मृति, समय, एकान्त र नियतिको आध्यात्मिक वृत्तान्त हो। उनले पुरानो कथालाई जस्ताको तस्तै दोहोर्याएनन्। बरु आफ्नै चेतनाको भट्टीमा गलाएर नयाँ ब्रह्माण्ड बनाए।
विश्व विख्यात विलियम शेक्सपियरका धेरै कथाहरू पनि पूर्णतः नयाँ थिएनन्। उनले पुराना इतिहास,मिथक र लोककथाहरूबाट सामग्री लिए। तर उनी महान् किन भए ? किनकि उनले उधारो कथाभित्र आफ्नै आत्मा फुके। उनको ह्याम्लेट (नाटक) नामक पुस्तक केवल राजपरिवारको षड्यन्त्र होइन। त्यो मानिसको निर्णयहीनता,अस्तित्वको सङ्कट र आत्मिक द्वन्द्वको महाकाव्य हो।उनले कथा सापटी लिए तर चेतना आफ्नै दिए। यहीँबाट सिर्जना जन्मियो।
बेलायती लेखिका भर्जिनिया उल्फले साहित्यलाई मानिसको भित्री चेतनासँग जोडिन्। उनले बाहिरी घटनाभन्दा मनभित्र बगिरहेको समयलाई लेखिन्। उनको मिसेस डालोवे उपन्यास पढ्दा लाग्छ,मानिसको जीवन बाहिरको घटनाले होइन बरु भित्रको मौनताले बढी निर्माण गर्छ भन्ने बुझिन्छ। उनले साहित्यलाई कथानकको सीमाबाट निकालेर चेतनाको नदीमा पुर्याइन्।
फ्रान्सेली दार्शनिक उपन्यासकार अल्बेर कामुले मानिसको अस्तित्वभित्रको निरर्थकता र विद्रोह लेखे। उनको दि स्ट्रेन्जर नामक पुस्तकमा एउटा मानिस समाजको नैतिक ढाँचाभन्दा बाहिर उभिन्छ। यस उपन्यासमा कामुले संसारलाई प्रश्न गरे, यदि जीवनको कुनै अन्तिम अर्थ छैन भने मानिस किन बाँचिरहेको छ ?
जर्मनका प्रभावशाली दार्शनिक,कवि र सांस्कृतिक आलोचक फ्रेडरिक नित्से हुन्। उनी १९औँ शताब्दीका सबैभन्दा क्रान्तिकारी विचारकहरू मध्ये एक मानिन्छन्।उनको एउटा भनाइ यहाँ स्मरणीय छ।“जससँग बाँच्ने ‘किन’ हुन्छ,उसले लगभग हरेक ‘कसरी’ सहन सक्छ।” सच्चा सर्जकहरू यही “किन” को खोजमा बाँच्छन्। उनीहरू शब्द लेख्नका लागि मात्र लेख्दैनन्। उनीहरू त अस्तित्व बुझ्न लेख्छन्। त्यसैले महान् लेखकको साहित्य लेखन पढ्दा लाग्छ,त्यो पुस्तक होइन, मानव आत्माले आफैँसँग गरेको संवाद हो।
आजको समस्या यहीँ छ। धेरैले स्रोतलाई नै सिर्जना ठानिरहेका छन्। पढेको कुरा फेरि लेख्नु सजिलो छ। तर आफ्नै आत्माको अँध्यारोमा पस्नु कठिन छ। किनकि साँच्चो लेखनमा लेखक निर्वस्त्र हुनुपर्छ। त्यहाँ उसले आफ्ना भ्रम,असफलता,डर,अपराध र घाउसँग सामना गर्नुपर्छ। त्यसैले मौलिक सिर्जना दुर्लभ हुन्छ। सजिलो के हो भने,पुरानो कथालाई नयाँ रङ्ग लगाउनु। कठिन के हो भने,आफ्नो आत्माभित्र कहिल्यै नसुनिएको आवाज भेट्टाउनु।
आज सामाजिक सञ्जालले प्रशंसाको कृत्रिम भीड निर्माण गर्न सजिलो बनाइदिएको छ। कुनै पुस्तक नपढीकन मानिसहरूले वाहवाही गरिरहेका हुन्छन्। समूहगत समर्थनले साधारण लेखनलाई पनि असाधारण घोषणा गरिदिन्छ। तर साहित्यको अन्तिम न्यायाधीश भीड होइन। त्यो त समय हो। समयले प्रचार सम्झिँदैन,चेतना सम्झिन्छ। समयले आवरण होइन,आत्मा जोगाउँछ। यसैले धेरै पुस्तकहरू केही समय चर्चामा आउँछन्, पुरस्कार जित्छन्, तस्बिर बन्छन् अनि हराउँछन्। तर केही कृतिहरू शताब्दीपछि पनि जीवित रहन्छन्। किनकि त्यहाँ लेखकले केवल लेखेका हुँदैनन् बरु आफूलाई जलाएका हुन्छन्। त्यहाँ शब्दहरू मसीले होइन,अस्तित्वको पीडाले लेखिएका हुन्छन्।
साहित्य अन्ततः भाषाको खेल होइन। त्यो त आत्माको जन्म हो। सच्चा लेखक त्यो होइन जसले धेरै किताब लेख्यो। सच्चा लेखक त्यो हो जसले मानिसलाई आफूभित्र फर्किन बाध्य बनायो। जसले इतिहासभन्दा गहिरो मानवीय सत्य भेट्टायो। जसले पुरानो कथालाई केवल सजाएन,बरु त्यसमा नयाँ चेतना जन्मायो।सायद यही कारणले प्रसिद्ध लेखकका कृति पढिसकेपछि मानिसले कथा मात्र सम्झिँदैन। उसले आफूलाई सम्झिन थाल्छ।किनकि साहित्य भनेको अन्ततःमानिसको आत्माले आफूलाई सम्झने प्रक्रिया हो। त्यसैबेला समयले एउटा मात्र प्रश्न सोध्छ। ए लेखक!“तिमीलाई अरूको इतिहास दोहोर्याउन सजिलो हुन्छ कि आफ्नै आत्माको अँध्यारो पढ्न र लेख्न?” त्यसैले साहित्यमा शब्दहरूको व्यापारभन्दा आत्माको सिर्जना कालजयी हुन्छ। जय साहित्य ।
नोट: लेखक छवि वैरागी घिमिरे साहित्यकार हुन् । उनी कविता र आख्यानमा पोख्त छन् ।










सशक्त, गहन र आत्मास्पर्शी विचार प्रस्तुत गर्नुभएकोमा हार्दिक प्रणाम गुरुवर ! 🙏
हजुरको लेखले आजको साहित्यिक परिवेशलाई केवल शब्दको भीडबाट अलग्याएर आत्मा, चेतना र मौलिक सिर्जनाको मूल सारतर्फ फर्किन प्रेरित गरेको अनुभूति भयो।
यस्ता वैचारिक, चेतनामूलक र मननयोग्य लेखरचनाले साहित्यप्रेमी पाठकलाई अवश्य नयाँ दृष्टि दिनेछन् भन्ने विश्वास छ। हजुरका सिर्जनाहरू निरन्तर पढ्न, बुझ्न र आत्मसात् गर्न पाइरहोस्। हजुरको लेखनीको गहिराइ, मूल्य र योगदानलाई समयले मात्र होइन हरेक सचेत पाठकले पनि अनुभूति गर्न सकून् भन्ने हार्दिक शुभेच्छा प्रकट गर्दछु।