कोशी प्रदेश मुख्य समाचार राजनीति

४५ वर्षपछि एमाले छाड्दै तुलसा मेयान्बो कांग्रेसमा

सुन्दरहरैंचा । नेकपा एमालेको लामो समयसम्मको सक्रिय राजनीतिलाई बिदा दिँदै सुन्दरहरैंचाकी अग्रज महिला नेता तुलसा मेयान्बो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। एमाले निकट अखिल नेपाल महिला संघ सुन्दरहरैंचाकी सचिवसमेत रहेकी मेयान्बोले शनिबार एक कार्यक्रमबीच औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन्।

कांग्रेसका केन्द्रीय महासमिति सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माले उनलाई पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा डा. शर्माले तुलसा मेयान्बोको आगमनले कांग्रेस संगठनलाई स्थानीयस्तरमा थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

“तुलसा दिदीले लामो समय पार्टीमा दिएको योगदान प्रशंसनीय छ। अहिले उहाँले लोकतान्त्रिक धारको पक्षमा उभिने निर्णय लिनुहुँदा हामीलाई ऊर्जा मिलेको छ,” सांसद शर्माले भने।

मेयान्बो नेकपा एमालेको सक्रिय सदस्यका रूपमा राजनीतिक जीवनमा होमिएकी थिइन्। पार्टीको विभिन्न तह र जिम्मेवारी सम्हाल्दै आएको उनको लामो राजनीतिक यात्राले स्थानीय तहमा उनीप्रति प्रभावशाली छवि बनाएको थियो।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै तुलसा मेयान्बोले आफू लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहेको र त्यसैले नेपाली कांग्रेस रोजेको बताइन्। “अब बाँकी जीवन लोकतन्त्र, समावेशीता र सामाजिक न्यायका लागि कांग्रेसमार्फत समर्पित हुनेछ,” उनले भनिन्।

कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरू, महिला नेतृहरू तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *