मुख्य समाचार राजनीति

मोरङ कांग्रेसमा नेताहरूलाई ‘चुनावी दशैं’

सुन्दरहरैंचा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले हुने भन्ने अन्योल कायमै रहँदा पनि मोरङ जिल्लामा भने नेताहरूबीच चुनावी सरगर्मी चुलिँदै गएको छ। पार्टी सभापतिको आकांक्षाले नेताहरूलाई सक्रिय बनाएको छ, जसका कारण मोरङ कांग्रेसभित्र ‘चुनावी दशैं’ जस्तै माहोल सिर्जना भएको छ।

महाधिवेशन नजिकिँदै गएको अनुमानसँगै दर्जनौँ नेताहरूले सभापति पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। कार्यकर्ता भेला, भेटघाट र विभिन्न कार्यक्रमहरूका माध्यमबाट आफ्नो पकड मजबुत पार्ने दौडधुप बढेको छ। सभापतिका लागि प्रतिस्पर्धामा उत्रिने आकांक्षी नेताहरूमा नागेश कोइराला, दिलिप गच्छदार, ललित श्रेष्ठ, भक्ति माझी, शिव ढकाल र सुयर्माराज राई प्रमुख छन्। यी सबै नेताहरू आ-आफ्ना पक्षको समर्थनमा चुनावी रणनीति तयार गर्दैछन्।

दिलिप गच्छदार संस्थापन पक्षसँगै सिटौला समूहबाट चुनावी मैदानमा उत्रने तयारीमा छन्। त्यस्तै, नागेश कोइराला, ललित श्रेष्ठ, भक्ति माझी र सुयर्माराज राई कोइराला पक्षका उम्मेदवारको रूपमा अघि बढिरहेका छन्। अर्कातर्फ, शिव ढकालले संस्थापन पक्षसँगै गगन थापा समूहको समर्थन पाइरहेका छन् भन्ने चर्चा छ।

गच्छदार अघिल्लो १४औँ महाधिवेशनमा डिगबहादुर लिम्बुसँग सभापति पदमा पराजित भएका थिए। यसपटक उनले पुनः उम्मेदवारी दिने तयारी गरेका छन्। हाल कार्यवाहक सभापति रहेका भक्ति माझी पनि सभापति बन्न इच्छुक छन्। त्यस्तै, उपसभापति रहेका नागेश कोइराला र सचिव ललित श्रेष्ठले पनि नेतृत्वदाबी गरिरहेका छन्। पूर्व प्रदेश सांसद सुयर्माराज राई र पूर्व मेयर शिव ढकाल पनि सभापतिका आकांक्षीका रूपमा प्रस्तुत भइरहेका छन्।

अधिवेशनको मिति तोकिन नसके पनि नेताहरूले आफ्नो पक्ष मजबुत पार्न व्यापक रूपमा भेटघाट, सभा, छलफल र सामाजिक सञ्जालमार्फत समर्थन जुटाउने काम तीव्र बनाएका छन्। कार्यकर्ताको मन जित्न नेताहरू गाउँ–गाउँ दौडिरहेका छन्।

मोरङ कांग्रेसमा बढ्दो आन्तरिक प्रतिस्पर्धाले पार्टीभित्रको राजनीतिलाई तातो बनाएको छ। आगामी नेतृत्व कसले लिने भन्ने अनिश्चित भए पनि नेताहरूबीचको तिव्र होडबाजीले पार्टीको माहोल चुनावी चटारोले भरिएको देखिएको छ। कार्यकर्ता र नेताहरू दुवैका लागि अहिलेको समय साँच्चिकै ‘चुनावी दशैं’ बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *