
सुन्दरहरैंचा । कोशी प्रदेशको मोरङ जिल्लाको सुन्दरहरैंचामा स्थापना भएको पिएलओ लुब्रीकेन्ट्स नेपाली बजारमा लोकप्रियता बटुल्दै अन्तर्राष्ट्रिय विस्तारको तयारीमा जुटेको छ। पिएलओ ग्रुप अन्तर्गत सञ्चालनमा रहेको लुब्रीकेन्ट्स उत्पादनले पछिल्लो वर्ष बिक्रीमा उल्लेखनीय वृद्धि गर्दै देशभर ब्रान्डको रूपमा स्थापित हुँदै गएको छ।

पिएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले कम्पनीले व्यवसायसँगै समाजप्रति पनि उत्तरदायित्व वहन गर्दै आएको बताए। “हामी नाफामुखी मात्र होइन, समाजप्रतिको दायित्वलाई पनि बराबरी प्राथमिकता दिँदै आएका छौं,” उनले भने, “सामाजिक काम, रोजगारी सिर्जना र स्वदेशी उत्पादन प्रवर्द्धनमा समूहको लक्ष्य स्पष्ट छ।”

उनका अनुसार कम्पनीले चालू आर्थिक वर्षमा लुब्रीकेन्ट्स बिक्रीमा दोहोरो अङ्कको वृद्धिदर हासिल गरेको छ। यससँगै पिएलओ ग्रुपले लुब्रीकेन्ट्स उत्पादनलाई भारतमा निर्यात गर्न आवश्यक प्रक्रिया सुरु गरिसकेको छ। “नेपालमै उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने क्षमताका साथ अघि बढिरहेका छौं,” अध्यक्ष दुलालले स्पष्ट पारे।
व्यवसायिक सफलता मात्र होइन, पिएलओ ग्रुप सामाजिक उत्तरदायित्वका कार्यहरूमा पनि सक्रिय रहँदै आएको छ। कम्पनीले हालसम्म विभिन्न सार्वजनिक परियोजनामा एक करोड रुपैयाँभन्दा बढीको सहयोग गरिसकेको छ। सुन्दरहरैंचामा निर्माणाधीन सार्वजनिक शौचालयमा २१ लाख रुपैयाँ सहयोग गरिएको छ भने मुक्तिघाट (लोहन्द्रा खोला) को विकासमा ५ लाख र इन्द्रपुर जेसीजको ‘जेसीज भिलेज’ परियोजनामा ३ लाख रुपैयाँ प्रदान गरिएको छ।
त्यस्तै, ट्राफिक प्रहरीलाई मास्क, सेफ्टी ज्याकेट, छाता, व्हिलचेयर र मोटरसाइकलसमेत वितरण गरिएको छ। अस्पताल, विद्यालय, धार्मिक संस्था र विभिन्न पालिकाहरूमा आवश्यक सामग्री सहयोग गरिँदै आएको समूहको दाबी छ।
पिएलओ ग्रुपले हाल नेपालभर सात वटा उद्योग सञ्चालन गरिरहेको छ, जहाँ एक हजारभन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरिएको छ। उद्योगसँगै समूहले विराटचोकमा ‘नेपालिरिका होटल’मार्फत हस्पिटालिटी क्षेत्रमा समेत सेवा विस्तार गरेको छ। यस्तै, अन्तर्राष्ट्रिय ब्रान्डका सीइएटी टायर र भ्यारो लगायतका पार्ट्स पनि पिएलओ ट्रेडिङमार्फत नेपाली बजारमा भित्राइएको छ।
अध्यक्ष दुलालका अनुसार अब समूहले स्टिल उद्योग, जुत्ता उत्पादन र प्रविधिको क्षेत्रमा समेत लगानी विस्तार गर्दैछ। “हामी ‘नेपालमै उत्पादन, विश्वमा विस्तार’ भन्ने मूल मन्त्रका साथ अघि बढिरहेका छौं,” उनले भने।