
सुन्दरहरैंचा । पती-पत्नीबीचको झगडा, लैंगिक हिंसा र पारिवारिक विवाद न्यूनिकरणका लागि सुन्दरहरैंचा नगरपालिकाले एक अनौठो कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ छनोट गरी सम्मान गर्ने घोषणा गरेको हो।


नगरपालिकाले सूचना जारी गर्दै समाजमा अनुकरणीय रूपमा सुखद दाम्पत्य जीवन बिताइरहेका जोडीहरूको पहिचान गरी सम्मान गर्ने लक्ष्यसहित यो कार्यक्रम ल्याइएको जनाएको छ। पछिल्लो समय न्यायिक समितिमा पारिवारिक झगडा, गालीगलौज, अपमान र हिंसाका उजुरीहरू बढ्दो क्रममा रहेको भन्दै सो समस्या समाधानका लागि सकारात्मक दृष्टिकोणबाट पहल गरिएको हो।

उत्कृष्ट ढुकुर जोडी बन्ने जोडीहरूले विवाह भएको कम्तिमा १० वर्ष पूरा गरेको, दुवैको नेपाली नागरिकता भएको, विवाह दर्ता भएको, स्थायी रूपमा नगरपालिकामा बसोबास गर्ने लगायत १२ बुँदे न्यूनतम शर्तहरू पूरा गर्नुपर्नेछ।
त्यस्तै, सन्तान भए तिनको जन्मदर्ता, नागरिकता तथा विद्यालय भर्ना गरिएको हुनुपर्ने, संयुक्त परिवारमा अभिभावकसँगै बसोबास गर्दै उचित हेरचाह गरेको देखिनुपर्ने, अदालत वा प्रहरीमा झगडा दर्ता नभएको तथा १० वर्षको वैवाहिक जीवनमा दुई वर्षभन्दा बढी विदेश नबसेको शर्त पनि लागु हुनेछ।
समानता, समझदारी र पारिवारिक समर्पणका उदाहरणीय पात्रहरूको सम्मानका लागि सुरु गरिएको यो कार्यक्रममा इच्छुक ढुकुर जोडीले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा कागजातसहित निवेदन दिन सक्नेछन्।










