कोशी प्रदेश मुख्य समाचार

हरैंचा बजार छिट्टै व्यवस्थित बन्छ : नगरप्रमुख गुरागाई

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा रहेको हरैंचा हटिया बजार केही महिनाभित्र व्यवस्थित हुने नगरप्रमुख केदारप्रसाद गुरागाईले बताएका छन्। नगरपालिकाले बुधबार आयोजना गरेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख गुरागाईले हटिया बजार सुधारका लागि विशेष परियोजना तयारी भइरहेको जानकारी दिए।

“बजारका टहराहरूको उचित व्यवस्थापनमा हामी लागिरहेका छौं,” नगरप्रमुख गुरागाईले भने, “एउटा प्रोजेक्टको खाका तयार पारेर छलफल र बैठकहरू गरिरहेका छौं। त्यो प्रोजेक्ट सञ्चालनमा आउन सकेमा केही महिनाभित्र हरैंचाको हटिया बजार पूर्ण रूपमा व्यवस्थित हुनेछ।”

सुनुवाई कार्यक्रममा स्थानीयबासीहरूले हटिया बजार विगत केही समयदेखि अति अस्तव्यस्त र अनियन्त्रित हुँदै गएको गुनासो गरेका थिए। सडक किनारमा पसलहरूको अव्यवस्थित विस्तार, फोहोर व्यवस्थापनको अभाव, ट्राफिक जाम र पार्किङ समस्या लगायत विषयहरूमा नागरिकहरूबाट प्रश्न उठाइएको थियो।

नगरप्रमुखले स्थानीयको चासोप्रति संवेदनशील हुँदै नगरपालिकाले बजार सुधारलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *