
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुन्दरहरैँचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य संघकाे समन्वयमा शान्ति सुरक्षा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा नगरमा रहेका विभिन्न संघ संस्थाकाे संयुक्त आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा उधोगपति भोलेश्वर दुलालले प्रहरी संग भएको सिमित स्रोत साधनले मात्र यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नसकिने हुँदा उधोग वाणिज्य संघ लगायत अन्य संघ सस्थाहरुले प्रहरीलाई विना वर्दीको स्वरुपमा सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै इन्द्रपुर खानेपानीका अध्यक्ष नवराज चापागाईले यस क्षेत्रमा पछिल्लो समय शान्ती सुरक्षा कायम गर्न यहाँ रहेका सडकहरुमा भएका सिसि क्यामेरा तथा सडक बत्तिको मर्मत गर्नुपर्ने तर्फ स्थानिय तहले ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष जीवनप्रसाद ढुंगानाले नयाँ पुस्ताका प्रहरी निरिक्षकबाट शान्ती सुरक्षा कायम राख्न यस क्षेत्रका नागरिकले धेरै आशा राखेको बताएका थिए । उनले प्रहरीबाट मात्र नभई शान्ती सुरक्षा मजबुद बनाउन विभिन्न संघसस्थाले समेत प्रहरीलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस मोरङका सचिव ललित श्रेष्ठले यस प्रकारको छलफलले नगरको शान्ती सुरक्षा अझ मजबुद रहने बताउदै शान्ती सुरक्षा मजबुद बनाउन सबैको दायित्व र जिम्मेवारी रहेको कारण शान्ती सुरक्षा कायम राख्ने कार्यबात कोहि पन्छिन नहुने बताएका थिए ।
कार्यक्रममा स्थानीय संघ संस्था, प्रहरी प्रशासन, उद्योगी व्यवसायी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। चाडपर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै शान्ति सुरक्षा सुदृढ बनाउन सबैको सहकार्य आवश्यक रहेको कुरा सहभागीहरूले औंल्याएका थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीमा नयाँ सरूवा भई आउनुभएका प्रहरी प्रमुख कृष्णबहादुर खत्रीलाई बधाई सहित स्वागत गरिएको थियो ।









