मुख्य समाचार स्वास्थ्य

नोवेलमा मुटुको विरामीको स्टेण्ट विना नै गरियो एन्जियोप्लाष्टी

विराटनगर । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरिरमा रक्त प्रवाहमा कमी आई समस्या उत्पन्न हुन जान्छ र मानिसको ज्यान नै जान सक्दछ । यस्तो अवस्थामा विरामीलाई एन्जियोप्लाष्टी गर्नु पर्दछ । प्राय एन्जियोप्लाष्टी गर्दा स्टेण्ट हाल्ने गरिन्छ । तर विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एक जना विरामीको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ । अस्पताल श्रोतका अनुसार पहिलो पटक ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी (डी सी बी) गरिएको हो ।

तीन बर्ष अगाडि इलाम जिल्ला सन्दकपुर गाँउपालिकाका एक जना विरामीलाई छाती दुख्ने समस्या भयो । गाँउघरमा सुरुमा धामी झाँक्री लगाउने चलन र त्यसैमा दुई दिन वित्यो तर दुखाई घट्नुको सट्टामा बढेर गए पछि उनी उपचारको लागि झापा झरे र उपचारको क्रममा भारतको सिलिगुडीमा स्टेण्ट लगाएर एन्जियोप्लाष्टी भयो । पछि फेरी छाती दुख्ने समस्या सुरु भए पछि उनी उपचारको लागि तत्काल झापामा आई जाँच गराए र थप उपचारको लागि नोवेल आए । नोवेलमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको टोलीबाट उनको मुटुमा तीन वर्ष अगाडि हालिएको स्टेण्टमा पुन ब्लकेज भए पछि विना स्टेण्ट ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी भयो । विरामीको अवस्था सामान्य भए पछि उनको डिस्चार्ज भईसकेको छ ।

प्रा. डा. राजेश नेपालका अनुसार स्टेण्ट हालेर गरिने एन्जियोप्लाष्टीको बैकल्पिक रुपमा यो प्रविधि रहेको छ । यसमा औषधी भएको बेलुन साँधुरिएको धमनीमा पुर्याएर फुलाउने खुम्चाउने गरिन्छ । यसले गर्दा साँधुरिएको भाग खुल्न गई रगतको प्रवाह सुचारु हुन्छ । तर आजको दिन सम्म सवै स्टेण्ट हाल्ने प्रकारको समस्यामा ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी लगाउन सकिदैन तर पहिला स्टेण्ट हालीसकेको तर पुन नशा साँघुरिएमा यो प्रविधीबाट उपचार गर्दा प्रभावकारी हुन्छ । दुई स्थानमा रक्त नली साँघुरिएको भए एक ठाँउमा स्टेण्ट हालेर अर्काे ठाँउमा यो प्रविधीबाट उपचार गर्न सकिन्छ अथवा साना धमनीहरुमा जँहा स्टेण्ट हाल्न सम्भव छैन त्यस्ता ठाँउमा यो प्रविधी प्रभावकारी हुने गर्दछ ।

उनका अनुसार यो सजिलो प्रविधी रहेको र प्राविधिकरुपमा पनि सजिलो छ । जोखिम पनि कम हुन्छ । यो नयाँ प्रविधी भएको र यसको सक्सेस रेट पनि राम्रो छ । यसो भन्दा प्रश्न उठ्न सक्छ की के यसले स्टेण्टलाई विस्थापित गर्दछ ? तर यसले पूर्णरुपमा स्टेण्टलाई विस्थापित गर्ने अवस्था छैन । यो प्रविधिको प्रभावकारिताको आधार ५० प्रतिशत जति अवस्थामा स्टेण्टको सट्टा ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी गर्न सकिने सम्भावना देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *