
पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका १ आङ्ना स्थित सिद्ध महेन्द्र माध्यमिक विद्यालयमा राजनीति हाबी हुँदा परीक्षा उत्तीर्ण गरेको परिक्षार्थीलाई चार महिनासम्म पनि नियुक्ति पत्र नदिएको खुलेको छ ।


गत साउन २३ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले गाउँपालिका आधारभूत तह शिक्षा अनुदान अन्तर्गतको एक जना करार शिक्षक राख्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार विद्यालयले १५ दिने सूचना जारी गर्दै विज्ञापन खुलाएको छ । जसमा दुई जनाको मात्र आवेदन परेको विद्यालयद्वारा प्रकाशित पत्रमा देखिन्छ । सोही आवेदनका आधारमा गत भदौ १९ मा परीक्षा भयो । जसमा तुमबेवा १ कि यानुका कार्की सफल र तुमबेवा ३ की अम्बिका सुवेदी वैकल्पिक भनी विद्यालयले अन्तिम नतिजासमेत प्रकाशित गरेको छ । तर परीक्षाफल प्रकाशन भएको ४ महिनासम्म पनि विद्यालयले विभिन्न बाहानमा नियुक्ति नदिएको उत्तीर्ण परीक्षार्थीको आरोप छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चन्द्रकला लिम्बूको अनुपस्थितिमा प्रक्रिया नपुर्याई परीक्षा गराइएको भन्दै व्यवस्थापन समितिले नै नियुक्ति रोकेको पीडितको गुनासो छ । तर विवाद बढ्दै गएसँगै अध्यक्षले आफ्नो दोस्रो व्यक्तिलाई अख्तियारी दिएको किर्ते कागज फेला परेको छ ।
वैकल्पिकमा रहेकी सुवेदीलाई नियुक्ति दिन विद्यालय व्यवस्थापन समिति लागि परेको पीडितको आरोप छ । पीडित कार्कीले भनिन् ‘म परीक्षामा सफल भएर पनि नियुक्ति पाएको छैन । यसको पछाडि विद्यालय व्यवस्थापन समिति र तुम्बेवा वडा नम्बर १ का वडा अध्यक्ष धनबहादुर कार्कीको हात छ । किन भने वैकल्पिकमा नाम रहेकी व्यक्ती सोही विद्यालयमा अध्यापन गराउने एक शिक्षककी श्रीमती हुनुहुन्छ । उहाँलाई नै जागिरमा राख्ने उहाँहरूको नियत रहेछ । तर गाउँपालिकाको शिक्षा प्रशासनले लिएको परीक्षामा ठुलो अन्तरले म उत्तीर्ण भए, जसले गर्दा उहाँहरू अनेक बाहानमा मलाई हटाउने प्रपोकाण्ड रच्नुभयो ।’
पीडित परिक्षार्थीले आफुले न्याय माग्दा वडाध्यक्ष कार्कीले सार्वजनिक स्थानमा गालीगलोच गरेको बताएकी छन् । उनले रक्षक बन्नुपर्ने जनप्रतिनीधि नै भक्षक भएपछि अब न्याय माग्न कहाँ जानु भन्दै आफ्नो सामाजिक सञ्जामा गुनासो पोखेकी छन् ।









