कोशी प्रदेश मुख्य समाचार स्वास्थ्य

इटहरीमा नोबेलको मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पूर्वी नेपालको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सकहरु सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

स्वस्थ्य मुटु स्वस्थ्य जीवन भन्ने मूल मन्त्रका साथ नोबेलले मुटु रोगको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्दै आउने क्रममा मिति २०८० पौष २१ गते शनिबारका दिन इटहरी उपमहानगरपालिका वडा नं. ५ मा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग, स्व. कुमार अधिकारीको स्मृतिमा अधिकारी मेडिको र तुलसा टोल विकास संस्था, इटहरी ५ को संयुक्त आयोजनामा संचालित उक्त शिविरमा ३३२ जना मुटु रोगको विरामीहरुको परीक्षण र उपचार गरिएको नोवेलका जनसम्पर्क अधिकारी नविन दाहालले बताए । नोबेलको मुटुरोग विभागका प्रमुख प्रा. डा. राजेश नेपाल, अर्का मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल र अन्य मुटुरोग विशेषज्ञ चिकित्सक सहित ८ जना चिकित्सकको स्वास्थ्य टोलीले विरामीहरुको परीक्षण, इकोकार्डियोग्राम, इसीजी र परामर्श सेवा प्रदान गरेको थियो । शिविरमा ३३२ जना विरामीको निःशुल्क इकोकार्डियाग्राम र २२५ जनाको ईसीजी गरिएको छ ।

आफ्नै ठाँउमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन पाँउदा त्यसमा पनि इको, इसीजी निःशुल्क भएकोले विरामीहरुलाई ठूलो सहयोग पुग्न गएको र भविष्यमा अनुकुल मिलाएर नोवेलको सहकार्यमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गर्ने योजना रहेको आयोजकले जानकारी दिए ।

शिविर उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नंं ५ का वडा अध्यक्ष, तुलसा टोल विकास संस्थाका पदाधिकारीहरु र अधिकारी मेडिकोका संचालकको उपस्थिति रहेको थियो । मन्तव्य व्यक्त गर्दै डा. राजेश नेपालले स्व. कुमार अधिकारीकोे उपचारमा आफु संलग्न भएको स्मरण गर्दै प्राय विरामीहरुले सोध्ने गरेको हार्ट अट्याकको बारेमा जानकारी दिएका थिए । “हार्ट अट्याक भनेको भुईचालो आएको जस्तो हो । भुईचालो कसैलाई थाहा नदिई आउने गर्दछ त्यस्तै हार्ट अट्याक पनि अप्रत्यासित हुने गर्दछ । तर कसैलाई हिँड्दा या काम गर्दा छाती भारी हुनु र बसे पछि आराम हुनु भनेको हार्ट अट्याक हुनु भन्दा अगाडिको लक्षण हो । हार्ट अट्याक भई सके पछि छाति एक दमै दुख्छ र दुखी रहन्छ । पोले जस्तो र छातिमा भारी बस्तुले किचे जस्तो हुन्छ । दुखाई देब्रे हात तिर सरेर जान्छ र वढी कान्छि औंला तिर दुख्ने गर्छ । कसै कसैलाई बङ्गारा तिर पनि दुख्छ । जिउ लल्याक लुलुक हुनु, रिङ्गटा लाग्नु, वाकवाकी लाग्नु हार्ट अट्याकको लक्षण हुन् । ईसीजी गरेर हेर्दा यो प्रष्ट देखिन्छ । तर ग्याष्ट्रिक भयो भनेर मानिसहरु झुक्किने गर्दछन् । चिकित्सक पनि झुक्किएका छन् । हार्ट अट्याक भयो भने अथवा लक्षण देखियो भने घण्टा घण्टाको अझ भनौ मिनट मिनटको महत्व हुन्छ । जति सक्दो चाँडो अस्पताल लगेर उपचार सुरु गर्नु पर्छ । यो भनेको आगो लाग्यो भने दमकल कहिले बोलाउने हो भने जस्तै हो । जति सक्दो चाँडो दमकल बोलायो क्षति त्यति कम गर्न सकिन्छ । त्यस्तै हार्ट अट्याक भएका विरामीलाई जति सक्दो चाँडो अस्पताल लान सकियो त्यसले गर्ने क्षति त्यति कम गर्न सकिन्छ ।” डा. नेपालले भने विश्वमा सवै भन्दा बढी मानिसको मृत्यु हुने पनि मुटु रोग कै कारणले हो भने समयमा रोग पत्ता लागेमा मुटु रोगको उपचार सम्भव छ । नेपाल सरकार र प्रदेश सरकारले मुटु रोगको उपचारमा सहुलियत र आर्थिक सहयोग गर्ने उल्लेख गर्दै नोवेलमा आउने विरामीहरुले पैसा कै कारण उपचारबाट अहिले सम्म बञ्चित हुन नपरेको बताए । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गत मुटु रोग उपचारमा एक लाख बराबरको सहुलियत प्राप्त हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *