
सुन्दरहरैंचा । मोरङकाे सुन्दरहरैँचामा रहेकाे सुकुना बहुमुखी क्याम्पस र विश्वविद्यालय अनुदान आयोग नेपाल विच अन्तर्क्रिया सम्पन्न भएकाे छ । बिहिवार क्याम्पसकाे सभाहलमा क्याम्पस अध्यक्ष केशव अधिकारी रआयाेगका अध्यक्ष प्रा।डा। देवराज अधिकारी सहित नगरप्रमुख केदारप्रसाद गुरागाईँको समुपस्थितिमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको हाे ।


कार्यक्रममा स्वमूल्याङ्कन समूहका संयोजक एवम् शिक्षक नरप्रसाद भण्डारीले विभिन्न आठवटा बेञ्चमार्कका आधारमा क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउनुअघि‚ प्रमाणपत्र प्राप्ति पछि र हालको अवस्थामा क्याम्पसले भौतिक‚ शैक्षिक‚ आर्थिक अवस्थाका बारेमा चर्चा गरेका थिए ।

यस्तै पुस्तकालय‚ विद्यार्थी कल्याण‚ अनुसन्धान‚ प्रकाशन‚ सुशासन‚ प्राज्ञिक उन्नयन तथा पेसागत विकास‚ सामाजिक सम्बन्ध‚ शैक्षिक गुणस्तर अभिवृद्धि‚ विद्यार्थी सङ्ख्याको बढोत्तरी‚ शैक्षिक नतिजाको अवस्था‚ विद्यार्थीका लागि रोजगारी स्थापन‚ प्रतिभा पहिचान र प्रवर्धन‚ अभिलेखीकरण आदि क्षेत्रमा क्याम्पसले गरेका उपलब्धिहरूको तुलनात्मक प्रस्तुति गरेका थिए ।
उक्त कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा।डा। अधिकारीले क्याम्पसले हालसम्म गरेका उपलब्धि प्रति सन्तोष प्रकट गर्दै अब सुकुना बहुमुखी क्याम्पसले स्वयत्तताका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने‚ डिम युनिभर्सिटि सञ्चालन गर्नु पर्ने‚ अनुसन्धानका गतिविधिहरूलाई सघनरुपमा ठूलो सङ्ख्यामा सञ्चालन गर्नु पर्ने अनुसन्धान अझै नतिजामूखी हुनु पर्ने‚ शैक्षिक गुणस्तरका क्षेत्रमा थप प्रयासहरू गर्नु पर्ने र एक नम्बर क्याम्पसमा स्थापित हुनु पर्ने कुरामा जोड दिए ।
सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख गुरागाईँले क्याम्पसबाट नगरपालिकाले कन्सल्टेन्सी सेवा लिएको‚ क्याम्पसले प्राविधिक धारका कार्यक्रम सञ्चालन गरेमा भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले सहयोग गर्ने बताउदै शैक्षिक गुणस्तरका क्षेत्रमा प्रोत्साहन गर्ने र सुन्दरहरैँचा नगरपालिका क्षेत्रका विद्यालयमा शिक्षकहरूको पेसागत विकासका लागि तालिम तथा सीप विकासमा क्याम्पसका विशेषज्ञहरूलाई प्रयोग गर्न सकिने बताएका छन ।
उक्त कार्यक्रमबाट क्याम्पसले हौसलाका साथ नयाँ गति लिने‚ गुणस्तर सुनिश्चितताको नविकरण छिटै हुने‚ अब नयाँ लक्ष्य र कार्यक्रमका साथ क्याम्पसले प्राज्ञिक स्वयत्तताका कार्यक्रमहरू सञ्चालन गर्दै डिम युनिभर्सिटि तर्फ उन्मुख हुने भएकाले कार्यक्रम उपलब्धीमूलक भएको कुरा सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान व्यवस्थापन इकाइका प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए ।









