
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत विरुद्ध नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको छ । संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले सर्वाेच्च जाने भएको हो ।


प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले अदालत जान लागेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । मंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताए । प्रदेशसभाकी उपसभामुखले सभा छाडेर काठमाडौँ गएपछि प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए ।

मन्सुरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेको बेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गिता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए ।









