मुख्य समाचार समाचार

अलकत्रा प्लान्टको धुलो–धुवाँको प्रभावबारे टुण्डी जेभीद्वारा अनुगमन, स्थानीयले मागे स्वास्थ्य शिविर

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ डाँडागाउँमा रहेको अलकत्रा प्लान्टबाट निस्कने धुलो–धुवाँले स्थानीयको स्वास्थ्य तथा वातावरणमा पारेको प्रभावबारे टुण्डी जेभीका प्रतिनिधिले स्थलगत अनुगमन गरेका छन्।

अनुगमनपछि स्थानीय बासिन्दा र कम्पनी प्रतिनिधिबीच प्लान्ट सञ्चालन तथा वातावरणीय प्रभावका विषयमा छलफलसमेत भएको छ। छलफलका क्रममा स्थानीयले अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्नुपर्ने माग दोहोर्‍याउँदै धुलो–धुवाँका कारण आँखा, कान, फोक्सो तथा श्वासप्रश्वासमा समस्या देखिन थालेको भन्दै तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरेका छन्।

उनीहरूले वृक्षारोपण, २५ फिट अग्लो वाल निर्माण, धुलो तथा ध्वनी नियन्त्रण प्रविधि जडान, फोहोर तथा दुर्गन्ध व्यवस्थापन र बस्तीको करिब १०० मिटर सडक कालोपत्रेलगायतका मागसमेत राखेका छन्।
कम्पनी प्रतिनिधि सस्मित पोखरेलले स्थानीयका आवश्यक मागहरू भदौ मसान्तसम्म क्रमशः सम्बोधन गर्न कम्पनी तयार रहेको बताएका छन्। यद्यपि, प्लान्ट स्थानान्तरण वा बन्द गर्ने विषयमा भने छलफल निष्कर्षमा पुग्न सकेको छैन।

स्थानीय बासिन्दा सानु कार्की बस्नेतले मुख्य माग प्लान्ट स्थानान्तरण वा बन्द नै रहेको बताउँदै चाँडै पुनः वार्ता गरिने जानकारी दिइन्। साथै स्थानीय निकायले प्लान्टको मापदण्ड र सञ्चालन अवस्थाबारे प्रभावकारी अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *