कोशी प्रदेश मुख्य समाचार

एडीबीको सहयोगमा सुन्दरहरैंचामा एचआईभी/एड्स र मानव बेचबिखनबारे सचेतनामूलक कार्यक्रम

सुन्दरहरैंचा । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको क्रममा मोरङको सुन्दर्हरैंचा नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

बुधबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रभावित क्षेत्र वडा नं. ३,४,५,६,७,८,९,१० र १२ का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी तथा अन्य चलायमान जनसंख्यालाई लक्षित गरी एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनका सम्भावित जोखिमबारे जानकारी प्रदान गरिएको थियो।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट कामदारको आवागमन बढ्दा महिलाहरू, बालबालिका तथा स्थानीय समुदायमा यौनजन्य हिंसा, दुर्व्यवहार र मानव बेचबिखनको जोखिम बढ्न सक्ने बताइन्। उनले समयमै परीक्षण, उपचार तथा सतर्कता अपनाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा स्वास्थ्यकर्मी शोभा भट्टराईले एचआईभी/एड्स तथा यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेकी थिइन् भने बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजिव गिरीले मानव बेचबिखन सम्बन्धी जोखिम र सुरक्षाका उपायबारे प्रोजेक्टर मार्फत जानकारी गराएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी सडक निर्माणका लागि विभिन्न देशबाट कामदारहरू आएको उल्लेख गर्दै सम्भावित जोखिमबाट बच्न स्थानीय बासिन्दा सचेत हुनुपर्ने बताइन् साथै आयोजनासँग सम्बन्धित निकायले समेत यस विषयमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिँदै सहभागीहरूलाई कार्यक्रममा सिकेका कुराहरू समुदायमा अन्य व्यक्तिसम्म पुर्‍याउन आग्रह गरिन्।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका उप-प्रमुख अकली चौधरी , काँकरभिट्टा–लौकही सडक आयोजनाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा स्थानीय गरी ११० भन्दा बढीको सहभागिता रहेको थियो। विज्ञ सिंहका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। सो योजनाअनुसार झापा र मोरंग गरेर १२ वटा पालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ भने सुनसरीका पालिकाहरूमा कार्यक्रम जारी रहेको छ। साथै सडक छेउका ६० स्थानमा लैङ्गिक हिंसाविरुद्ध चेतनामूलक साइनबोर्ड राख्ने लक्ष्यअनुसार हाल मोरङ र सुनसरीका करिब ३० स्थानमा साइनबोर्ड राखिसकिएको र बाँकी स्थानमा राख्ने कार्य भइरहेको जानकारी दिइन्।

त्यसैगरी आयोजनाअन्तर्गत सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सडक छेउका विद्यालयमा शिक्षक तथा विद्यार्थीहरू र सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी सञ्चालन गरिने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *