मुख्य समाचार राजनीति

मोरङ कांग्रेसको सभापतिमा ललित श्रेष्ठको चर्चा

विराटनगर । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा मोरङ जिल्ला सभापतिको उम्मेदवारीमा चासो र छलफल चुलिएको छ। हाल मोरङ कांग्रेसका सचिव रहेका ललित श्रेष्ठ पार्टी सभापतिको दाबेदारको रूपमा चर्चामा छन्। श्रेष्ठ डा. शेखर कोइरालाका नजिकका नेता मानिन्छन्।

यद्यपि, कोइराला समूहभित्र सभापतिका लागि नागेश कोइरालालाई अघि सार्ने तयारी भइरहेको छ। तर श्रेष्ठ भने जसरी भए पनि सभापतिको उम्मेदवार बन्ने अडानमा छन्। स्रोतका अनुसार गगन थापा समूहबाट समेत श्रेष्ठलाई समर्थन गर्ने तयारी भइरहेको चर्चा छ, जसले मोरङ कांग्रेसको आन्तरिक समीकरण थप जटिल बनाएको छ।

शेखर कोइरालाले कांग्रेस संगठन भन्दा आफ्ना निवास नजिकका व्यक्तिहरूलाई प्राथमिकता दिन थालेको भन्दै कोइराला समूहभित्र असन्तुष्टि बढ्दै गएको छ। यसैका कारण केही नेता कोइराला समूह छाड्न थालेको पाइएको छ।

कोइराला समूहकै अर्का नेता भक्ती माझी पनि सभापतिका उम्मेदवार बन्ने तयारीमा छन्। माझी हाल मोरङ कांग्रेसका उपसभापति हुन्। यसरी कोइराला समूहभित्रै तीनजना (नागेश कोइराला, ललित श्रेष्ठ र भक्ती माझ) को  उम्मेदवारी चर्चा चलिरहँदा टिम मिलाउने प्रयास हम्मेहम्मे परेको छ।

नेतृत्व चयनमा स्पष्ट र एकमत नहुनुले असन्तुष्ट पक्षले आफ्नै लाइन बनाउने सम्भावना बढेको छ, जसले शेखर कोइरालाको पकड कमजोर बनाउने खतरा देखिएको छ।

अर्कोतर्फ, गगन थापा समूहबाट दिलीप गच्छदार, यदु विष्ट र शिव ढकालको नाम पनि सभापतिका संभावित उम्मेदवारका रूपमा चर्चा हुन थालेको छ। यी उम्मेदवारहरूको उपस्थितिले मोरङ कांग्रेसको प्रतिस्पर्धा बहुपक्षीय बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *