
सुन्दरहरैंचा । मोरङको विकट पहाड र तराई मिलेर बनेको लेटाङ नगरपालिका पछिल्लो समय संस्थागत विकास, सुशासन, पूर्वाधार, आर्थिक विकास, सामजिक विकास र राजनैतिक सहकार्यका क्षेत्रमा उल्लेखनीय सफलता हात पार्दै आएकोछ ।


पछिल्लो समय नगर प्रमुख , उपप्रमुख र प्रमुख प्रसाशकिय अधिकृतको सोच मिल्दा २२ महिनाको अवधिमा ३३ वटा कानून निर्माण तथा १० वटा कानून संशोधन भएका छन् । यसले नगरपालिकाको कानूनी शासन सञ्चालनलाई अझै बलियो बनाएको छ ।

नगर प्रमुखको काम गर्ने सोच र न्यौपानेको काम गर्नु पर्छ भन्ने हुटहुटीका कारण नगरपालिकाको आवधिक योजना, यातायात गुरुयोजना, पर्यटन गुरुयोजना र राजस्व सुधार योजना पुस्तकका रूपमा प्रकाशन गरी नगरलाई योजनाबद्ध विकासको दिशामा अगाडि बढाइएको छ ।
दोश्रो कार्यकालका जनप्रतिनिधि र नारायण न्यौपानेको २२ महिनाको बसाईमा “असारे विकास” को प्रवृत्तिलाई निरुत्साहित गर्दै वार्षिक योजना तथा कार्यक्रम वैशाख मसान्तभित्र सम्पन्न गर्ने परिपाटीको थालनी गरिएको छ । यसले योजनाबद्ध र समयमै काम सम्पन्न गर्ने संस्कारको विकास भएको छ। लिजा वा एफ.आर.ए. प्रणाली र कार्यसम्पादन सूचकमा समेत लेटाङले सुधार ल्याएकोछ ।
कर्मचारीहरूको संस्थागत क्षमता विकास गर्दै सेवा प्रवाहलाई सरल, सहज, र पारदर्शी बनाउने सोच भएका जनप्रतिनिधि र न्यौपानेको कार्यले संस्थागत सुशासनलाई मजबुत बनाउन मद्दत पुर्याएको छ ।
चालु आर्थिक वर्षका पूर्वाधार तर्फका योजनाहरू समयमै सकिने गरी अगाडि बढाइएको छ । दुर्गम पहाडी क्षेत्रमा समेत समान विकास गर्न नगरपालिका सफल भएको छ ।
न्यौपानेको लेटाङ नगरपालिकाबाट बिदाइ भएसँगै झापाको कन्काई नगरपालिकामा सरुवा भएको छ । उनले कन्काई नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नेछन ।









