
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित बाघझोडा पर्यटकीय स्थलमा शुक्रवार “रूख मुनीको गन्थन मन्थन” संवाद कार्यक्रम सम्पन्न भएको छ ।


विपि अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैंचाको आयोजनामा भएको “रूख मुनीको गन्थन मन्थन” संवाद कार्यक्रममा नेपाली काङ्ग्रेसका विभिन्न विभागमा रहेका काङ्ग्रेस नेताहरू सँग संवाद गरिएको थियो ।

संवाद कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेशका सूचना तथा प्रचार विभाग प्रमुख बाबुराम कोइराला, सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, नेपाली काङ्ग्रेस मोरङ सचिव ललित श्रेष्ठ, नेपाली काङ्ग्रेस सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौला र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ सुन्दरहरैंचा सभापति अमृता लिम्बु वक्ताको रूपमा रहेका थिए ।
संवाद कार्यक्रममा वक्ताहरूले “राजनीतिमा युवा सहभागिता, अवसर र सङ्गठन निर्माणमा भूमिका”, “सङ्गठन निर्माण कसरी ?, नेतृत्व विकासमा भूमिका र नेतृत्व पहिचानका आधारहरू”, स्थानीय तहमा दलिय प्रतिनिधित्वको फाइदा/बेफाइदा, दलको स्थानीय नेतृत्व र शासकीय नेतृत्व बिचको सामन्जस्यता र सहकार्यको आवश्यकता”, “राजनीतिक योगदान र त्यागको मुल्यांकनको अवस्था, नयाँ पुस्ता सँग हातेमालो र हस्तान्तरण” र “राजनीतिमा महिला सहभागिताको अवसर, चुनौती, सम्मानजनक पहुँच र सर्वपक्षीय सहयोगको अवस्था” जस्ता विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
उक्त संवाद कार्यक्रमलाई विपि अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैंचा सभापति मिराजजंग थापा र नेपाल प्रेस युनियन कोशी प्रदेश सचिव विनय बाह्रकोटीले सहजीकरण गरेका थिए ।









