
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित कुमार गाउँमा बञ्चरो प्रहार गरी एक जना पुरुषको हत्या भएको छ । बिहिबार बिहान करिब १०:३० बजे तिर सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा कृषि फार्म गर्दै आएका वर्ष ४९ का सहदेव बजगाईँको शव भेटिएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार मृतक बजगाईँको टाउको र घाटीमा चोटपटक लागेको छ । फार्मभित्रै बजगाईँको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा एउटा बन्चरो र दाउ फेला परेको छ । दुवै हतियार रगत लतपतिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बजगाईँले सञ्चालन गर्दै आएको फार्ममा एक दम्पती काम गर्नका लागि बस्दै आएका थिए । तर उनीहरू उक्त फार्ममा भेटिएनन् । हत्या कसले गरेको हो भन्ने अनुसन्धान पछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।









