
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई दिने नगर बाल भेला कार्यक्रम शुरु भएको छ । कार्यक्रममा बालमैत्री स्थानीय शासन अभिमुखीकरण तथा विभिन्न बाल प्रस्तुति प्रदर्शनी हुनेछ ।


आइतबार नगर बाल सञ्जालको समन्वय तथा नगरपालिकाको आयोजनामा इन्द्रपुर जेसीज भवनमा भएको बाल मैत्री स्थानीय शासन अभिमुखिकरण तथा विभिन्न बाल प्रस्तुति प्रदर्शनी कार्यक्रममा सामुहिक हस्ताक्षर गर्दै २०८३ जेठ ९ गते भित्र बाल मैत्री नगर घोषणा गर्ने नगरप्रमुख केदारप्रसाद गुरागाईँले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा सामुहिक हस्ताक्षर गर्दै नगरप्रमुख गुरागाईँले स्थानीय तहको वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने विषयमा नगरपालिकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा उपप्रमुख अकली चाैधरीले घरबाट बाल मैत्री व्यवहार गर्नुपर्ने भन्दै यसमा आजैदेखि सबै लाग्नु पर्ने बताइन । नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ मा रहेका ५१ वटा सूचकमा आधारित भई बाल मैत्री नगर घोषणा गर्नेछ ।
कार्यक्रममा सबै विद्यालयबाट प्रतिनिधि शिक्षक सहित विद्यार्थी, नगर बाल सञ्जालका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।









