
ग्रामथान । मोरङको ग्रामथान गाउँपालिकामा ५ दिने कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता बिकास तालिम सम्पन्न भएको छ । जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लिको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा क्षमता विकास तालिम सोमबार सम्पन्न भएको हो ।


तालिममा बैठक ब्यबस्थापन प्रणाली, नेतृत्व बिकास, प्रभावकारी भाषण कला तथा उदघोषण, स्थानीय तहमा महिलाको सहभागिता तथा लैंगिक हिँसा समबन्धी कानुनी जानकारी , स्थानीय तहमा ऐन कानुन तथा कार्य बिधि निर्माण लगायतको बिषयमा तालिम दिएको कार्यक्रम संयोजक पार्वती गच्छदारले बताइन ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गुनाबती थारुले कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताइन । क्षमता बिकास तालिममा सहभागी हुँदै उपाध्यक्ष थारुले तालिमले कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताइन । उनले सिकेका कुरा व्यवहारमा लागु गर्न सके राष्ट्र र जनताको लागि सहजता हुने समेत बताएकि छिन ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थिहरुलाई उत्प्रेरणा जगाउदै ग्रामथान गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद भट्टराईले कर्मचारी र जनप्रतिनिधिमार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले सहयोग पुर्याउने बताए । प्रशिक्षणमा सहभागीहरुलाई सिकाइले आफ्नो अनुभव दक्षता र रचनात्मक कार्य गर्न उत्प्रेरणा प्राप्त गर्न सो तालिमले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
नेपाल जेसिजका प्रशिक्षक सेवक बजगाईं, नेपाल सरकारका आन्तरिक मामिला तथा कानुन अधिकृत सुनिल रेग्मी, नेपाल जेसिज बर्ष २०२३ का मास्टर टट एलएन गच्छदार, महिला अधिकारकर्मी शोभा बजगाईंले तालिमको सहजीकरण गरेका थिए । कार्यक्रममा पालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा कार्यालयका जनप्रतिनिधिहरु, स्वास्थ्य शाखा , कृषि शाखा, शिक्षा शाखा, सामाजिक शाखा, प्रशासन शाखा लगायत कार्यालयका प्रमुख तथा कर्मचारी गरी ६५ जना भन्दा बढीको सहभागिता थियो ।









