
पथरी । मोरङको पथरीशनिश्चरेमा बुधबार दिउँसो यात्रुबहाक बसले सीटी सफारीलाई ठक्कर दिँदा एक जना वृद्धा महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ मा दिउँसो १२ बजेतिर दुर्घटना भएको हो ।


पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ७८३५ नम्बरको बसले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १–०१–००२ ह ११४८ नम्बरको सीटी सफारीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा तेह्रथुम घर भएकी ८० वर्षीया हस्तमाया गुरुङको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएकी उनलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ दिउँसो १ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।









