राजनीति

सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको मिलेमतो: सुनिल शर्मा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याई छ ।

गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने उनको बुझाई छ । डीआइजीको नेतृत्वमा विशेष सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्ट कटेर सुन भित्रिनु र एयरपोर्टको गेट कटेर गइसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागले पक्राउ गर्नुले घटनामा गृहको संलग्नता पुष्टि गर्ने सांसद शर्मा बताउँछन् ।

‘विदेशमा भएको छोरालाई गाउँबाट आमाले एक बट्टा धुले अचार पठाउँदा पुलिसले थाहा पाउँछ, विदेशबाट आउँदा ल्याएको एउटा मोबाइल समातेर हल्ला पिटिन्छ, सिक्री थुतिन्छ, त्यस्तो कडा चेकजाँच हुने एयरपोर्टमा क्विन्टलका क्विन्टल सुन कसरी पस्छ र कसरी यहाँ एयरपोर्टको गेटबाट बाहिरि जान सक्छ?,’ काठमाडौंमा बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै सांसद शर्माले भने, ‘गृह मन्त्रालय मातहतको प्रहरीले नसमातेर एयरपोर्टबाट सुन बाहिरिनुले यसमा गृह सामेल थियो भन्ने प्रमाणित भयो, गृह र अर्थबीचको भागबन्डामा कुरा नमिल्दा पक्राउ परेको जस्तो देखिन्छ । यसमा संलग्न मुख्य नायिके सार्वजनिक गरिनुपर्छ, अब हामी त्यसै छोड्नेवाला छैनौ ।’

ठूलो पदमा भएका व्यक्ति वा ठूला राजनीतिकर्मीकै संलग्नतामा सुन तस्करी भएको सांसद शर्माको आशंका छ । मोरङको क्षेत्र नं.३ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका सांसद शर्माले हाम्रो गठबन्धनको गृहमन्त्री, मेरो पार्टीको अर्थमन्त्री भनेर अब नछोडिने प्रष्ट पारे । अब बस्ने संसद् बैठकमा यसलाई जोडदार रुपमा प्रस्तुत गर्ने उनले जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *