
काठमाडौं । मोरङ जिल्ला बेलबारी नगरपालिका–१ का २७ वर्षीय कैलाश तामाङ पाँच महिनादेखि मिर्गौला फेल भएर अस्पतालको शैयामा जीवन र मृत्युबीच संघर्ष गरिरहनु भएको छ। आर्थिक अवस्था कमजोर भएकाले परिवारसँग उहाँको उपचारको लागि विकल्प थिएन। तर जीवनरक्षाका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको मिर्गौला प्रत्यारोपण कागजी झमेलाले रोकिएको छ।

कैलाशकी आमा गीता तामाङले आफ्नै मिर्गौला दिएर छोराको ज्यान बचाउने निर्णय गरिसक्नुभएको छ। चिकित्सकहरूले परीक्षणपछि उहाँ उपयुक्त दाताको रूपमा योग्य ठहर गरिसकेका छन्। नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले काठमाडौं मेडिकल कलेजमा कैलाशको निःशुल्क प्रत्यारोपण गरिदिने घोषणा गरिसक्नुभएको छ।

तर दुर्भाग्यवश, काठमाडौं जिल्ला प्रशासन कार्यालयको प्रशासन शाखामा कार्यरत प्रशासकीय अधिकृत रामकुमार तिमल्सिनाको दस्तखत नहुँदासम्म प्रत्यारोपणको प्रक्रिया अघि बढ्न सकेको छैन।
कैलाशकी आमाको विगतमा दोस्रो विवाह भएको कारण देखाउँदै कागजी अड्चन खडा गरिएको हाे। यद्यपि हालसम्म स्थानीय तह र मोरङ जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रमाण तथा सिफारिस प्राप्त भइसकेको अवस्थामा पनि काठमाडौँ प्रशासनको ढिलासुस्तीले कैलाशको जीवन संकटमा परेको छ।
परिवारका सदस्यहरूका अनुसार, सम्पूर्ण कागजात र सिफारिस काठमाडौं कार्यालयमा पुगिसकेको भए पनि प्रशासकीय अधिकृत तिमल्सिनाले फाइल अगाडि बढाउनुभएको छैन। यो गम्भीर लापरबाहीप्रति प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले समेत चासो नदिएको परिवारको गुनासो छ।
“सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा काठमाडौं प्रशासनबाट भइरहेको ढिलाइले हामीलाई असह्य पीडामा पारेको छ,” कैलाशकी आमाले भावुक हुँदै भन्नुभयो।
कैलाशको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ। अबिलम्ब कागजी प्रक्रिया पूरा नहुँदा प्रत्यारोपण गर्ने मौका नै गुम्ने त्रास उहाँहरूको अनुहारमा स्पष्ट देखिन्छ।
नागरिक जीवनसँग प्रत्यक्ष जोडिएको यस्ता संवेदनशील विषयमा प्रशासनले यति ढिलो चासो देखाउनु गम्भीर विषय हो। केवल एक प्रशासकीय दस्तखतको प्रतीक्षामा एउटा जिउँदो जीवन झुण्डिरहनु दुखद मात्र नभई, व्यवस्थाप्रतिको गहिरो प्रश्न पनि हो।