कोशी प्रदेश मुख्य समाचार

बजेटको पोको होइन, कार्यान्वयनमुखी नीति ल्याएका छौं: मुख्यमन्त्री कार्की

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले ल्याइएको नीति तथा कार्यक्रमले “बजेटको पोको” होइन, विकासको स्पष्ट दिशा दिने कार्यान्वयनमुखी सन्देश दिएको बताएका छन्।

आज प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ताजा नीति तथा कार्यक्रम छोटो, छरितो र समावेशी भएको बताउँदै यसले सहअस्तित्व, सहकार्य र एकता जस्ता विषयहरूमा जोड दिएको बताएका छन्। उनले यो कार्यक्रमले प्रदेशको आन्तरिक आय वृद्धि र आर्थिक समृद्धिमा ध्यान केन्द्रित गरेको पनि उल्लेख गरे।

मुख्यमन्त्रीले यो नीति तथा कार्यक्रम दोस्रो आवधिक योजना र सरकारको दीर्घकालीन लक्ष्यसँग मेल खाने गरी तयार गरिएको बताएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमतिका आधारमा बनेको सरकार सातवटा मूल समस्याको समाधानतर्फ अग्रसर भएको र यसले उल्लेखनीय उपलब्धिहरू हासिल गरिरहेको उनले बताए।

“तीन बुँदे मर्ममा आधारित सात बुँदे सहमति अहिले निकै प्रभावकारी भएको छ,” उनले भने, “दश महिनामै प्रदेशको बिग्रिएको आर्थिक अवस्था ट्र्याकमा फर्किएको छ, अनि निर्यात प्रवर्द्धनजस्ता क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको छ।”

कार्कीले विकासका राम्रा योजनाप्रति समर्थन गर्नु कुनै दल वा व्यक्तिको नेतृत्वको आकांक्षा होइन भन्ने प्रस्ट पारे। “जो–कोहीले सरकारले अघि सारेका राम्रा योजनाको समर्थन गर्नु स्वाभाविक प्रक्रिया हो,” उनले भने।

नीति, कार्यक्रम र बजेटबीचको सम्बन्धबारे उनले स्पष्ट पार्दै भने, “नीति र कार्यक्रम भनेको विकासको मार्गदर्शन हो, अनि बजेट त्यसको कार्यान्वयनको साधन हो।” पछिल्ला आठ वर्षमा आएका आठवटा नीति तथा कार्यक्रमलाई निरन्तरता र स्थायित्व दिन जरुरी रहेको उनले औँल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *